बल अब जेलेन्स्कीको कोर्टमा छ : राष्ट्रपति डोनाल्ड ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा सम्पन्न उच्चस्तरीय वार्ता युक्रेन युद्ध अन्त्यका लागि ठोस सम्झौतामा नपुगी सकिएको छ । करिब तीन घण्टा लामो बैठकपछि दुवै नेताले वार्ता ‘सकारात्मक’ रहेको बताए पनि अन्तिम निर्णयको जिम्मा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको काँधमा आएको छ ।

वार्तापछि फक्स न्युजसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “बल अब जेलेन्स्कीको कोर्टमा छ । धेरै बुँदामा सहमति जुटेको छ, तर अन्तिम सम्झौता नभएसम्म त्यसलाई सम्झौता मानिँदैन ।” उनले केही महत्त्वपूर्ण विषय टुङ्गिन बाँकी रहेको बताए पनि त्यसलाई भने खुलाएनन् ।

वार्तापछि आयोजित संक्षिप्त पत्रकार सम्मेलनमा दुवै नेताले वार्ता ‘सकारात्मक तर केही कडा’ भएको बताए । ट्रम्पले छिट्टै फेरि भेट्ने सम्भावना व्यक्त गर्दा पुटिनले अंग्रेजीमा जवाफ दिए, “अर्को पटकको भेट मस्कोमा ।” भव्य स्वागतका बीच भएको वार्तामा ठोस सहमति नहुनुको मुख्य कारण भने पुटिनले आफ्ना पुराना अडानहरू नछाड्नु रहेको विश्लेषण गरिएको छ ।

न्युयोर्क टाइम्सका अनुसार, पुटिनले युद्धविरामका लागि आफ्ना चार प्रमुख सर्तहरू दोहोर्‍याएका छन्, जसमा युक्रेनको ठूलो भू-भागमा रूसी नियन्त्रण, युक्रेनी सेना कटौती, नेटोमा सामेल नहुने ग्यारेन्टी र युक्रेनको वर्तमान सरकार परिवर्तन रहेका छन् । युक्रेन र पश्चिमा मुलुकहरूले अस्वीकार्य भन्दै आएका यिनै सर्तहरूका कारण अलास्का वार्ताले ठोस आकार लिन नसकेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =