न्यून चापीय रेखा दक्षिण सर्यो, नेपालमा मनसुनी गतिविधिमा कमी

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा आफ्नो सामान्य स्थानभन्दा दक्षिणतर्फ सरेका कारण नेपालमा मनसुन कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशभर मनसुनी गतिविधिमा कमी आएको हो ।
महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम आंशिक रूपमा मात्रै बदलिएको छ। अहिले कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी भू–भागहरूमा मौसम सामान्यतया बदली रहनेछ। बाँकी तराईका भू–भागमा भने आंशिक बदलीको अवस्था रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका अन्य क्षेत्रका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ।
आज राति कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा मौसम सामान्यतया बदली रहनेछ। देशका अन्य स्थानमा भने मौसम आंशिक बदली हुनेछ। रातिको समयमा कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। साथै, अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थान र तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
वर्षाका कारण पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने तथा नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।








