आम नागरिकलाई नागरिकताविहीन बन्नुपर्ने अवस्थाको अन्त्य गर्न ऐन संशोधन गर्नुपरेको हो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट मात्र पनि सन्तानलाई नागरिकता दिने कानुनी व्यवस्था गर्न नागरिकता ऐन संशोधन प्रस्ताव गरिएको बताएका छन् ।
शुक्रवार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले संविधानले आमा र बाबु दुवैको नामबाट नागरिकता दिने व्यवस्था गरे पनि व्यावहारिक रूपमा कार्यान्वयन नहुँदा नागरिकताविहीन बन्नुपर्ने अवस्थाको अन्त्य बाबु विदेशी भएर आफ्नो देश फर्किएमा वा स्वदेशमै रहेर पनि सहयोग नगर्ने अवस्थामा आमाले सन्तानलाई आफ्नो नामबाट नागरिकता दिन पाउने अधिकार सुनिश्चित गर्ने व्यवस्थामा विधेयक केन्द्रित रहेको उल्लेख गरे ।
उनले समितिका सदस्यलाई विधेयकमा भएका कमजोरीहरूलाई सुधार गर्दै विधेयकलाई छिटो पास गर्न सुझाए ।
उनले भने, ‘संविधानले आमा र बुबाको नामबाट नागरिकता पाइने भन्यो । तर यहाँ आमाको नामबाट मात्र नागरिकता पाइने भयो बाबाका नामबाट पाइने भएन । त्यो मुद्दामा केन्द्रित भएर अहिले हामीले नागरिकतासम्बन्धी विधेयक ल्याएका हौं । संविधानले पनि आमाको नामबाट नागरिकता दिने जुन कुरा गरेको छ । त्यो संविधानको निर्दिष्ट अधिकार प्रदान गर्ने कुरामा केन्द्रित भएका छौं । बुबा विदेशी थिए । आफ्नो देश फर्किएर गए । अथवा स्वदेशै छन् प्रमाणपत्रमा नाम छ तर सहयोग गर्दैनन्, यस्तो कुनैपनि अवस्थामा आमाले मेरो नामबाट सन्तानलाई नागरिकता देउ भन्दा दिने स्थिति बनाउने आधारभूत अधिकार प्रदान गर्नको लागि ऐन संशोधन गर्न लागिएको हो । विधेयकमा केही कमजोरीहरू छन् भने हजुरहरू हेरे कमजोरी पत्ता लगाइदिनुस् ।’
उनले बाबाको बेपत्ता भएको वा पहिचान नखुलेको अवस्थामा आमाको स्वघोषणाका आधारमा नागरिकता दिने व्यवस्था गरिएको उनले स्पष्ट पारे ।








