व्यापारका सबैभन्दा ठुला चुनौतीहरूलाई निकासी पैठारी विधेयकले समेट्न सकेन : लीलामणि पौड्याल

काठमाडौँ । नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौड्यालले मुलुकमा व्यापारका सबैभन्दा ठुला चुनौतीहरूलाई निकासी पैठारी ९नियमन० विधेयकले समेट्न नसकेको बताएका छन् ।
शुक्रवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा भएको निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विषय विज्ञहरूसँग भएको छलफलमा उनले अहिले आयात निर्यातमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न नसकेको भन्दै यसको परिमार्जन जरुरी रहेको बताएका हुन् ।
पौड्यालले यो ऐन आयो भनेर खुसी हुनुपर्ने अवस्था नरहेको बताए । पूर्वसचिव पौडेलले अहिलेको वाणिज्य क्षेत्रको एकीकृत ऐनको आवश्यकता हो भने भन्सार ऐन, औद्योगिक व्यवसाय प्रवर्द्धन ऐन, आर्थिक ऐन, विदेशी मुद्रा विनिमय, वैदेशिक लगानीका विषयहरू निकासी प्रवर्द्धन ऐनमा नसमेटिएको बताए ।
त्यो समेटिएर आउने हो भने मात्रै निकासी प्रवर्द्धन ऐनले अहिलेका चुनौतीहरू सम्बोधन गर्नसक्ने बताए ।
पूर्व मुख्यसचिव पौड्यालले भने –‘संसारमा सबैभन्दा धेरै ट्रेड ग्याप हुने मुलुकमध्ये नेपाल अग्रस्थानमा पर्छ । अधिकांश मुलुकहरूको आयात, निर्यातमा यति धेरै ग्याप हुने मुलुक अन्त कतै छैन । त्यसैमा पनि निर्यात भएको वस्तु दिगो छैनन् । ७५ प्रतिशत निर्यात बढ्यो भनेर प्रधानमन्त्रीज्युले नै सांसदमा भनेको सुनियो । सबैले खुसी व्यक्त गरेको देखिन्छ । म त खुसी हुनुपर्ने कुनै कारण नै देख्दिन ।’
पौडेलले नेपालको रणनीतिक योजना नेपालमै धेरै उद्योगहरू स्थापना गर्ने, रोजगारी सिर्जना गर्ने, निकासी बढाउने, अर्थतन्त्रलाई दिगो बढाउने, स्वावलम्वन आत्मनिर्भर अर्थतन्त्र बढाउने हुनुपर्ने बताए । उनकाअनुसार उद्योगी निकासीको ८० प्रतिशत हिस्सा नेपालमै उत्पादन नभएका वस्तुहरू रहेको छ । उनकाअनुसार अहिले नेपालको निर्यात छैन भन्दा पनि हुन्छ । अहिले भइरहेको निर्यातले नेपालको अर्थतन्त्रलाई दिगो रूपमा सहयोग गर्ने खालको नरहेको उनको भनाइ छ ।
जुन निर्यात १९९० मा कार्पेट निर्यातमा नेपालको श्रम, सीपको प्रयोग भएको र नेपालको पहिचान झल्किने खालको रहेको र आगामी दिनमा पनि त्यस्तो खालको निर्यात हुन जरुरी रहेको पौड्यालले बताउँछन् ।








