‘आयोगको राजनीतिक दलसम्बन्धी स्वमूल्याङ्कन कार्यविधि मस्यौदा एकदलीय निरङ्कुशताको पूर्वाभ्यास’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद श्रीकृष्णप्रसाद अधिकारीले निर्वाचन आयोगले ल्याएको राजनीतिक दलसम्बन्धी स्वमूल्याङ्कन कार्यविधि मस्यौदा दलको स्वतन्त्र प्रतिस्पर्धा र बहुदलीय व्यवस्थामाथि अंकुश लगाउने प्रयास भएको आरोप लगाएका छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद अधिकारीले यस्तो आरोप लगाएका हुन् ।

उनले राजनीतिक दलसम्बन्धी स्वमूल्याङ्कन कार्यविधिको मस्यौदा साना दलहरूको स्वतन्त्रता समाप्त पार्ने र हिजोको एकदलीय निरङ्कुशता पुनः स्थापित गर्ने उद्देश्यले ल्याइएको दाबी दाबी गरे । उनले निर्वाचन आयोगजस्तो स्वतन्त्र र निष्पक्ष संस्थाबाट यस्तो मस्यौदा आउनु लोकतान्त्रिक मूल्य र प्रणालीमाथि प्रत्यक्ष प्रहार भएको टिप्पणी गरे ।

सांसद अधिकारीले मस्यौदा राजनीतिक दल सञ्चालन ऐन, २०६३ को दफा ६१ लाई आधार बनाएर ल्याइएको भनिए पनि सो ऐनले केवल कार्यान्वयनका लागि कार्यविधि वा निर्देशिका बनाउन दिने व्यवस्था गरेको उल्लेख गरे ।

उनले भने ‘दलीय स्वतन्त्रता र राजनीतिक दलहरूबिचको स्वतन्त्र प्रतिस्पर्धामाथि अंकुश लगाएर हिजोकै एकदलीय निरङ्कुशताको हस्को आउनेगरी साना दलहरूको स्वतन्त्रता छिनेर समाप्त पार्ने हेतुले निर्वाचन आयोगजस्तो स्वतन्त्र र निष्पक्ष रहनुपर्ने संस्थाद्वारा स्वमूल्याङ्कन कार्यविधि मस्यौदा आएको छ । राजनीतिक दल सञ्चालन ऐन, २०६३ को दफा ६१ लाई आधार बनाएर मस्यौदा ल्याएको भनिएको छ । तर राजनीतिक दल सञ्चालन ऐनमा सो ऐन कार्यान्वयनका लागि मात्र कार्यविधि र निर्देशिका बनाउन सक्ने प्रावधान छ । छुट्टै उद्देश्य र प्रयोजनका लागि कार्यविधि र निर्देशिका बनाउन यो ऐनले छुट दिएको छैन । विधायन ऐन विपरीत प्रत्योजित विधायनलाई प्रत्योजन गरेर प्रशासनिक संरचना खडा गरी छुट्टै सेवा सुविधा तोक्ने जस्ता विपरीत कार्यहरू मस्यौदामा प्रस्ताव भएर आएका छन् । ऐन निर्माणको संसदीय सर्वोच्चताको मर्यादामाथि हस्तक्षेप गर्ने अधिकार निर्वाचन आयोगलाई छैन । र हुनु हुँदैन । राजनीतिक दलको मूल्याङ्कन र अनुगमनको अधिकार सार्वभौम जनताको अधिकार हो । जनताले आफ्नो अभिमतद्वारा फैसला गर्नेछ ।’

कार्यविधि मस्यौदामा ऐन विपरीत प्रशासनिक संरचना खडा गर्ने र सेवा–सुविधा तोक्ने प्रस्ताव रहेको भन्दै सांसद अधिकारीले आपत्ति जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =