सांसद गैरेको प्रश्न- नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सांसद राजेन्द्रलक्ष्मी गैरैले नेपालमा महिलामाथि अझै पनि सम्पत्तिको अधिकारमा विभेद कायमै रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले मतदान अधिकारदेखि वंशजको अधिकारसम्मका आन्दोलनमार्फत महिलाले अधिकार प्राप्त गरेपनि सम्पत्ति अधिकारको सवालमा सामाजिक चेतना अझै परिवर्तन हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले २०६२/६३ को जनआन्दोलनका क्रममा महिलाको नागरिकता, वंशज र सम्पत्ति अधिकारका मुद्दा उठाएपछि केही कानुनी प्रगति भएपनि व्यवहारमा लागू हुन नसकेको उल्लेख गरिन् । उनले संविधानको कार्यान्वयन पूर्ण रूपमा गर्न नसक्दा समाजमा महिलामाथिको विभेद अन्त्य हुन नसकेको उल्लेख गरिन् ।

उनले भनिन् ‘आज हामी कता गइरहेका छौँ ? कुन अवस्थामा छौँ । हिजो हामीले अधिकारकै लडाइँ लड्नुपर्‍यो । महिलाहरूलाई त लामो समयसम्म मतदान गर्ने अधिकार थिएन । हामीले मतदानको अधिकार लडेर ल्याउनुपर्ने, नागरिकताको अधिकार लडेर ल्याउनुपर्ने, यति मात्रै होइन हामीले २०६२/६३ को आन्दोलनमा आउँदा नागरिकको अधिकारको कुरालाई उठायौँ । वंशजको अधिकारको कुरालाई उठायौँ र सम्पत्तिको कुरालाई उठायौँ । यसरी लडेर हामीले केही अधिकारहरू प्राप्त गर्‍यौँ । तर सम्पत्तिको अधिकारको कुरा गर्दा छोरा र छोरीलाई विभेद नगर्ने भन्यौँ । कतिपय समाजमा गाडिएर रहेको कुरालाई हामीले भत्काउन सकेनौँ । आजपनि समाजमा छोरा छोरीबिच विभेद छ । छोरीलाई सम्पत्ति दिने चर्चा हुँदैन । विवाह गरेर दिने चर्चा हुन्छ । यो विभेद कायमै रहेको छ । यसको समाधानका लागि सरकार तयार रहनुपर्छ ।’

उनले नागरिकतासम्बन्धी ऐन संशोधन विधेयकमा महिलाले स्वघोषणा गर्नुपर्ने तर पुरुषले गर्नु नपर्ने विभेदकारी प्रस्ताव खारेज गर्न समेत माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =