संसदको सदस्य भइसकेपछि संसदीय गतिविधिमा भाग लिनु सांसदको जिम्मेवारी हो : श्याम घिमिरे

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीलाई संसदीय गतिविधिमा सहभागी हुन आग्रह गरेका छन् ।
सभामुखसँग शुक्रवार सिंहदरबारमा भदौ महिनाको कार्यसूचीबारे छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले सभामुखसँग कार्यसूचीको बारेमा छलफल भएको र १५ दिनको कार्यसूची तयार पारेको जानकारी दिए । सभामुखसँगकै छलफलका क्रममा रास्वपालाई संसदको गतिविधिमा सहभागी हुन आग्रह गरेको बताए ।
संसदले बैठक बहिष्कार गर्दा पनि रास्वपा सांसदहरूलाई भत्ता दिइरहेको भन्दै नैतिकता देखाउन पनि संसदीय गतिविधिमा सरिक हुन आग्रह गरिएको बताए । संसदको सदस्य भइसकेपछि संसदीय गतिविधिमा भाग लिनु दायित्व र जिम्मेवारी भएको बताए ।
उनले भने ‘कार्यसूचीको विषयमा छलफल भएको हो । भदौको कार्यसूची बनेको थिएन । १५ दिनको कार्यसूची तयार पारेका छौँ । संसद ४ गतेबाट सुरु हुन्छ । उहाँहरूलाई संसदीय गतिविधिमा भाग लिन आग्रह गरिएको छ । अब संसदको सदस्य भइसकेपछि दायित्व र जिम्मेवारी पनि हो ।’
संसदीय गतिविधिमा नैतिक जिम्मेवारी लिएर पनि भाग लिन आग्रह गरेको बताए ।








