भदौ महिनाको संसदको कार्यसूचीबारे मुख्य सचेतकहरूसँग सभामुखको छलफल

काठमाडौँ । भदौ महिनाको संसदको कार्यसूचीबारे सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
शुक्रवार सिंहदरबारमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग सभामुखले छलफल गरेका हुन् ।
छलफलमा भदौ महिनाको कार्यतालिका कस्तो बनाउने र संसद कसरी सञ्चालन गर्ने भन्नेबारेमा छलफल भएको नेकपा ९माओवादी केन्द्र० का प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
नेपाली महिलाहरूको चाडहरू परेकाले त्यसलाई मध्यनजर गरी कार्यतालिका बनाउन आफूले सुझाव दिएको बताए ।
उनले भने ‘सम्माननीय सभामुखज्यूले हामी राष्ट्रिय दलका प्रमुख सचेतकहरूलाई बोलाउनुभएको थियो । यो गृहकार्यका लागि हो । कार्यतालिका कसरी बनाउने भनेर हो । भाद्र महिनाको १ देखि १५ गतेसम्मको कार्यतालिका कसरी बनाउने भनेर हो । हामीले सुझाव दिँदा आफ्नो सुझाव दिएका छौँ । नेपाली महिलाहरूको चाड तिज परेकाले त्यसलाई ख्याल गरेर कार्यतालिका बनाउन आग्रह गरेका छौँ ।’
प्रतिनिधि सभाको आगामी बैठक भदौ ४ गते बस्दै छ ।








