भवन र सडकको शिलान्यास गर्न मधेस जाँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज मधेस प्रदेशको भ्रमणमा जाँदैछन् । उनी धनुषा र महोत्तरीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।
प्रधानमन्त्री ओली बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट धनुषाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । धनुषामा उनले मधेस प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्नेछन् भने हंसपुरमा एउटा सडकको शिलान्यास पनि गर्ने कार्यक्रम तय भएको छ ।
धनुषाको कार्यक्रमपछि उनी महोत्तरीतर्फ लाग्नेछन् । महोत्तरीको सोनमा भन्ने स्थानमा उनले एउटा पक्की सडकको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यो सडक मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र विश्व बैंकको ऋण सहयोगमा सञ्चालित प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत निर्माण हुन लागेको हो ।
उक्त कार्यक्रम अन्तर्गत रघुनाथपुर बजार–सोनमा–तरहारी–सुन्दरपुर जोड्ने ८.३८४ किलोमिटर सडक कालोपत्रे गरिनेछ । मूल्य अवृद्धि कर (भ्याट) सहित १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँको लागतमा निर्माण हुन लागेको यो सडकको जिम्मा ढुकुछु निर्माण कम्पनी प्रालिले पाएको छ । २०८३ चैत ११ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ ।
धनुषा र महोत्तरीका कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओली आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी मधेस प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।








