रुसले बेचेकै भूमिमा युक्रेनको भविष्यबारे छलफल गर्दै ट्रम्प-पुटिन

काठमाडौं । लामो समयदेखि जारी रुस-युक्रेन युद्धमा पूर्णविराम लगाउने उद्देश्यका साथ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा ऐतिहासिक भेटवार्ता हुँदैछ । विश्वभरिबाट चासोका साथ हेरिएको यो ‘शान्ति वार्ता’ युक्रेनको सार्वभौमिकता र भविष्यका लागि भने एक कठिन परीक्षा बन्ने देखिएको छ ।
वार्तामा रुसी राष्ट्रपति पुटिन सकेसम्म धेरै युक्रेनी भूभागमा आफ्नो नियन्त्रणलाई वैधानिकता दिने दाउमा छन् भने राष्ट्रपति ट्रम्प अन्तर्राष्ट्रिय दबाब सिर्जना गरेर युद्धविराम गराएको जस लिने प्रयासमा हुनेछन् । वार्तास्थल अलास्का आफैंमा ऐतिहासिक महत्वको छ, जुन १९ औँ शताब्दीमा रुसले नै अमेरिकालाई बेचेको थियो ।
यो वार्ताको सबैभन्दा ठूलो चेपुवामा युक्रेन परेको छ । रुसले हाल कब्जामा लिएका डोनेट्स्क, लुहान्स्क, जापोरिजिया र खेर्सनका बाँकी भूभाग पनि आफूमा मिलाउन चाहन्छ, जुन युक्रेनका लागि कुनै पनि हालतमा स्वीकार्य छैन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो एक इन्च भूमि पनि नछाड्ने अडान राख्दै आएका छन्।
तर, यदि अमेरिका सहमत भइसकेको कुनै सम्झौतालाई राष्ट्रपति जेलेन्स्कीले अस्वीकार गरेमा युक्रेनले पाउँदै आएको सम्पूर्ण अमेरिकी सैन्य तथा आर्थिक सहयोग रोकिने त्रास छ । रुस युक्रेनको यही मनोवैज्ञानिक त्रासको फाइदा उठाउने रणनीतिमा छ ।
दोस्रो कार्यकालका लागि चुनावी अभियानमै ट्रम्पले युक्रेनमा शान्ति स्थापना गर्ने वाचा गरेका थिए । जनवरीदेखि प्रयास गरे पनि उनले सफलता पाउन सकेका थिएनन् । फेब्रुअरीमा ह्वाइट हाउसमै उनको युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग भनाभन भएको थियो, जसपछि उनले केही समयका लागि सैन्य सहयोगसमेत रोकेका थिए ।
यद्यपि वार्ताको टेबुलमा रुस शक्तिशाली देखिए पनि उसको आर्थिक अवस्था कमजोर बन्दै गएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण तेल र ग्यासबाट हुने आम्दानी घट्दा पुटिनमाथि पनि दबाब छ । यही कारणले रुस र अमेरिकाबीचको आर्थिक सम्बन्ध सुधार्ने एउटा अवसरको रुपमा पनि यो वार्तालाई हेरिएको छ ।








