‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यसअघिको बैठकमा गणपुरक सङ्ख्याको अभावमा निर्णयार्थ प्रस्तुत हुन बाँकी उक्त प्रस्ताव आज स्वीकृत गरिएको सभामुख देवराज घिमिरेले बताए ।

आजको कार्यसूचीमा रहेको पानी जहाजसम्बन्धी विधेयकको कार्यक्रम हटाइएको उनले जानकारी गराए ।

यसअघि विशेष समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद सीता मिजारले प्राकृतिक प्रकोपको जोखिममा दलित तथा विपन्न वर्ग पर्ने गरेको बताइन् ।

उनले दलित र उत्पीडित वर्गका धेरै नागरिकले संविधानले प्रत्याभूत गरेको मौलिक हकको उपयोग गर्न नपाएको बताइन् ।

उनले भनिन्– ‘एकाध बाहेकले चरम गरिबी र अभाव भोगिरहेका छन् । भूमिहीन दलितले आजसम्म पनि एक टुक्रा जमिन पाएका छैनन् । दलित र भूमिहीनहरुलाई जमिनको व्यवस्था सरकारले गरोस् ।’

उनले सरकारी स्वामित्वमा रहेका नेपाल औषधि लिमिटेड र सिंहदरबार वैद्यखानाको संरचनागत र जनशक्तिको पाटोमा सबलीकरण गर्नुपर्ने बताइन् ।

प्रतिनिधि सभाको अर्को बैठक भदौ ४ गते दिनको १ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + thirteen =