संसदमा प्रधानमन्त्रीलाई माओवादी सांसद पुनको प्रश्नैप्रश्न

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले प्रधानमन्त्रीलाई एकपछि अर्को प्रश्न गर्दै सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले सरकारको तीव्र आलोचना गर्दै असन्तुष्टि जनाएका हुन् ।

उनले आर्थिक वर्ष २०८१/८२ मा साना सहकारी बचतकर्तालाई पाँच लाख रुपैयाँ फिर्ता गर्ने प्रचण्ड नेतृत्वको सरकारको नीति समेत कार्यान्वयन नगरिएको बताए । रिक्सा, सैलुन, चटपटे व्यवसाय सञ्चालन गरेका बचतकर्ताको फिर्ता गर्नुपर्दैन ? उनको प्रश्न छ ।

उनले मिटरब्याज पीडितका लागि अघिल्लो सरकारले अघि सारेको न्यायिक छानबिन र कारबाही प्रक्रिया रोकिएकोप्रति पनि आपत्ति जनाए । उनले कीर्तिपुर क्रिकेट रंगशालाको निर्माण ढिलाइबारे समेत प्रहार गर्दै तेस्रोपटक म्याद थपिसक्दा पनि काम सम्पन्न नभएको उल्लेख गरे । उनले सिंहदरबार परिसरमै निर्माणाधीन संसद भवनको प्रगति र विवरण संसदमा प्रस्तुत नगरेको विषयमा पनि प्रधानमन्त्रीको जवाफ माग गरे ।

उनले भने ‘आर्थिक वर्ष २०८१/८२ मा साना सहकारी बचतकर्ताको पाँच लाख रुपैयाँ फिर्ता गर्ने नीति किन कार्यान्वयन गर्न सक्नु भएन ? रिक्सा चलाएर, सैलुन चलाएर चटपटे बेचेर साना किसानहरूका बचतहरू फिर्ता गर्नु पदैन ? मिटरब्याज पीडितहरूको न्यायको लागि प्रचण्ड सरकारले अघि सारेको न्यायिक छानबिन र कारबाही प्रक्रिया किन रोकियो ? तपाईँले अस्ति त कीर्तिपुर क्रिकेट रंगशाला बनिसकेको हेर्न जान भनेर सामाजिक सञ्जालमा जुहारी खेल्नु भएको थियो । तेस्रो पटक म्याद थप हुँदा समेत खै रंगशाला बनेको ? सिंहदरबारभित्रै संसद भवन निर्माणको स्थिति के छ ? किन यो विवरण यहाँ प्रस्तुत भएन ? किसानहरूले समयमा मलखाद पाएका छैनन् । आज मात्रै कृषिमन्त्रीज्युले यहाँ केही जानकारी दिने कोसिस गर्नुभयो । आयात गरिएको मल समेत किसानको खेतमा पुगेको छैन । सत्तारुढ दलकै नेताहरूले पटक पटक मलका कुराहरू उठाउँदा सरकार किन सुन्न तयार छैन ।’

उनले आयातित मल समेत किसानको खेतमा नपुगेको र सत्तारुढ दलकै नेताहरूले पटक–पटक आवाज उठाउँदा पनि सरकार किन सुन्न तयार छैन ? भन्दै प्रश्न गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 3 =