नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना गरेको छैन : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना नगरेको स्पष्ट पारेका छन् ।
विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
गोरखा भर्तीका सन्तानले नेपालको नागरिकता पनि वंशजको आधारमा पाउनुपर्ने भन्दै माग गरेका छन् । तर सरकारले भने दुई देशको नागरिकता दिन नसकिने बताउँदै आएको छ । उनले कुनै नेपाली नागरिक विदेशको नागरिकता प्राप्त गरेको छ भने नेपालको नागरिकता स्वतः समाप्त हुने बताए ।
यदि नेपालको नागरिकले विदेशको नागरिकता लिइसकेको छ र पुनः नेपालको नागरिकता लिन चाहन्छ भने जुन देशको नागरिकता लिएको छ, त्यो देशको नागरिकता छोडेर छोडेको डकुमेण्ट ल्याएर नेपालमा दर्ता गर्यो भने त्यसै दिनदेखि नेपालको नागरिकता कायम हुने व्यवस्था वर्तमान ऐनले गरेको बताए ।
उनले दुवै देशको नागरिकता राख्न दिने हो भने संविधान संशोधन गर्दा पहल गर्नुपर्ने बताए ।
उनले भने ‘वर्तमान नागरिकता ऐनमा हामीले जब रिफ्लेक्ट गयौँ, यदि कुनै नेपाली नागरिक विदेशको नागरिकता प्राप्त गरेको छ भने नेपालको नागरिकता स्वतः समाप्त हुन्छ । अहिलेको ऐनले । अर्को ऐनले यदि नेपालको नागरिकले विदेशको नागरिकता लिइसकेको छ र पुनः नेपालको नागरिकता लिन चाहन्छ भने जुन देशको नागरिकता लिएको छ, त्यो देशको नागरिकता छोडेर छोडेको डकुमेण्ट ल्याएर नेपालमा दर्ता गयो भने त्यसै दिनदेखि नेपालको नागरिकता कायम हुन्छ । जुन दिनदेखि छोडेर गएको थियो, त्यही नागरिकता प्राप्त गर्छ भनेर भनेको छ । दोहोरो नागरिकता हुँदैन । यदि अर्को देशको नागरिकता नेपालीले लिन्छ भने नेपालको नागरिकता समाप्त हुन्छ । पुनः लिन चाहन्छ भने अर्को देशको नागरिकता छोड्नुपर्छ । नेपालले दोहोरो नागरिकताको परिकल्पना नगरेको अवस्था विद्यमान छ ।’
उनले आमाको नामबाट सरल रूपले नागरिकता पाओस् भन्ने उद्देश्य सरकारको रहेको बताए । बिहीबार नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१ माथि दफावार छलफल भएको हो । छलफलमा उनले आमाले घोषणा गरेर मेरो सन्तान हो भनेको खण्डमा नागरिकता दिनुपर्ने प्रावधान राख्नुपर्ने विधेयकको उद्देश्य रहेको बताए ।
उनले भने ‘आमाको नामबाट सरल रूपले नागरिकता पाओस् भन्ने मेरो उद्देश्य हो । यो विधेयकको उद्देश्य हो । आमाले घोषणा गरेर मेरो बालक हो भन्यो भने नागरिकता दिनुपर्छ । आमाको नागरिकता हो भनेर जाँच्दा हुन्छ । आमाको नागरिकता ठिक छ, आमाले मेरो सन्तान हो भन्यो भने दिनुपर्छ । यसमा स्वघोषणा राखेर जाऔँ । बरु अरू केही कुरा राख्नुपर्छ की हामीले अनुमान नगरेको, प्रतिनिधि सभाबाट अनुमान हुन नसकेको अवस्था पनि हुनसक्छ । ’
गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता दिन प्रतिनिधि सभाबाट अनुमान हुन नसकेको कुराहरू भए राख्न पनि सांसदहरूसँग माग गरे ।








