काठमाडौँ-तराई/मधेस द्रुतमार्गको काम मेलम्चीको जति लम्बिँदैन : रक्षामन्त्री

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले ०८३ भित्रै काठमाडौँ—तराई/मधेस द्रुतमार्गको काम सकिनेमा आशंका व्यक्त गरेका छन् ।

बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा छलफल भएको हो ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री राईले अहिले सरकार फास्ट ट्र्याकमा केन्द्रित रहेको र नेपालमा अन्तर्राष्ट्रिय स्तरको बाटो बनिरहेको बताए । उनले ०८३ सम्म बन्छ भन्ने विश्वास नलागेको तर मेलम्चीको जस्तो लामो समय नलाग्ने बताए । सडक निर्माणका क्रममा नेपालमा जमिनको समस्या हुने गरेको पनि बताए ।

अन्य देशहरूमा जमिन सरकारको नाममा हुने भएकाले कुनै समस्या नहुने तर नेपालमा व्यक्तिको नाममा जमिन हुँदा विभिन्न अवरोधहरू हुने गरेको उल्लेख गरे ।

मन्त्री राईले भने ‘फास्ट ट्र्याकमा हामी केन्द्रित छौँ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको बाटो बन्दै छ । नेपालको जमिन व्यक्तिको नाममा दर्ता छ । छिमेकी देश चीन लगायतमा जमिनहरू सरकारी हुन्छन्, निजी हुँदैनन् । डिजाइन गर्न अप्ठ्यारा हुँदो रहेनछ । तर काम गर्दै जाँदा सकिँदो रहेछ । बाटो राम्रो हुँदो रहेछ, सुरुङ मार्ग बन्दा रहेछन् भन्ने प्रमाणित भइसकेको छ । जमिन र जंगल समस्या हो । जंगलको कानुन मन्त्रीपरिषद्ले समेत क्रस गर्न सक्दो रहेनछ । हामीले सच्यायौँ । त्यसबेला ठुला पार्टीले जंगल पनि बेचेर खाने भए भन्ने आरोप खेप्नुपयो । तर त्यो झन्झटबाट मुक्त भयौँ । ०८३ साल नआईकन सकिँदैन भन्न त नमिल्ला, निकै कठिन भएको छ । तर म यति भन्न चाहन्छु, मेलम्चीको आयोजना जति लम्बिँदैन । यति धेरै लामो समय लाग्दैन ।’

मन्त्री राईले नेपाली सेना जुनसुकै कालखण्डको सरकारमा पनि सरकारप्रति अनुशासित ढंगले अघि बढिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + nineteen =