महिला फुटबल टिमका खेलाडीहरुलाई उत्प्रेरणा दिने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली महिला फुटबल टिमका खेलाडीहरुलाई उत्पेरणा दिने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उनले फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली महिला फुटबल टोली १३ अंक माथि उक्लिएर ८७ औँ स्थानमा आएको उल्लेख गरे ।
उनले खेलाडीहरुलाई उत्प्रेरणा दिनको लागि आवश्यक पूर्वाधार निर्माण तथा खेलमैत्री वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए । ‘सरकारले यदि उचित र उपयुक्त खालको वातावरण बनाउने हो भने खेलाडीहरुलाई उत्प्रेरणा दिने स्थिति सिर्जना गर्ने हो भने नेपाली महिला फुटबल टोलीका खेलाडिहरुले राम्रो गर्न सक्छन् भन्ने देखिएको छ । यसकारण नेपाल सरकारले विशेष ध्यान जाओस् भन्ने माग गर्न चाहन्छु’ उनले भने ।
उनले खेल क्षेत्रको विकासका लागि सरोकारवाला सबै पक्षबीच आपसि सहकार्यको खाँचो रहेको समेत बताए ।








