मृतक को–पाइटका पिता भन्छन्ः ‘ममाथि ह्यारेसमेण्ट भयो, उसको आत्मा नरोओस्’

काठमाडौं । २०८१ को साउन ९ गते सौर्य एयरलाइन्स दुर्घटनामा परी ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवालका पिता ओम कटुवालले विमान दुर्घटनाका लागि अध्यययन गर्न गठित आयोगका संयोजकले आफूमाथि ह्यारेसमेण्ट गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बिहीवार प्रतिवेदनमाथि छलफल भएको हो । छलफलका क्रममा बोल्दै उनले आयोगका अध्यक्ष पक्षपाती भएको आरोप लगाए ।
उनले आफूसँग कुरा गर्न जाँदा समेत ह्यारेसमेण्ट गरेको र आफूले खाइरहेको औषधि समेत रोकेको उनको आरोप छ । कुराकानीमा सोझै सुशान्त जर्मनमा जाँदा फेल भएको रहेछ भन्नेकुरा गरेको बताए । ‘आयोगको अध्यक्षज्यु वायसनेस भएको आशंका मलाई छ । किनकी उहाँ मेरोमा अन्तरवार्ता लिन जाँदा नै उहाँले मलाई ह्यारेसमेण्ट गर्नुभयो । मैले खाने औषधिहरु समेत उहाँले गर्नुभयो । उहाँले सोझै यो त जर्मनमा जाँदा फेल भएको रहेछ भन्नुभयो’ उनले भने ।
प्रारम्भिक प्रतिवेदन र अहिलेको प्रतिवेदनमा फरक रहेको उनको आरोप छ । मरेर गएको व्यक्तिमाथि दोष थुपारिनु र सबै दोष उसैलाई लगाउन नहुने बताए । उनले भने ‘दोष जति सबै एउटामाथि थुपारेर मरेको मान्छेको आत्मालाई नरुवाउन आग्रह गरे । उ बोल्न सक्दैन कहाँ छ, तर दोष किन उमाथि ? यदी उ माथि दोष सुनियोजित थुपारिन्छ भने अध्यक्षज्यु छिमेकी जिल्ला तपाईंकै जिल्लामा साढे ४ वर्ष सेवा गरेको छु, तपाईंको पनि छोरो पाइलट छ । तपाईंको आत्मसन्तुष्टि छ भने मेरो भन्नु केही छैन । उ माथि हुँदा पनि उसको आत्मा नरोओस् ।’
उनले क्याप्टेनको कमाण्ड भएपछि कोपाइलटमाथि मात्रै किन शंका गरियो ? भन्दै प्रश्न गरे । २०८१ को साउन ९ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको थियो । जहाँ १८ जनाको ज्यान गएको थियो ।








