रामहरि खतिवडाले सभामुखलाई बुझाए औपचारिक राजीनामा

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार सभामुख देवराज घिमिरेलाई औपचारिक राजीनामा पत्र बुझाएका हुन् ।
खतिवडाले मंगलबार प्रतिनिधिसभाको बैठकमा रोष्ट्रममार्फत राजीनामाको घोषणा गरेका थिए । त्यसको भोलिपल्ट उनले लिखित रूपमा राजीनामा पत्र बुझाउँदै पद त्याग गरेका हुन् ।
राजीनामा पत्रमा खतिवडाले उल्लेख गरेका छन्, ‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु ।’
खतिवडाको राजीनामासँगै समितिको सभापति पद हाल रिक्त भएको छ । अब प्रतिनिधिसभाबाट नयाँ सभापतिको चयन प्रक्रिया अघि बढ्नेछ ।









