संवैधानिक निकायहरूमा कैयौँ समस्या छन्, गुनासा राख्दै हिँड्नुपरेको छ, सुनुवाई भएन : महालेखा परीक्षक राया

काठमाडौं । महालेखा परीक्षक तोयम रायाले संवैधानिक निकायहरूमा पनि धेरै समस्याहरू रहेको बताएका छन् ।

बुधवार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले समस्याहरूको चाङ भएपनि आफूहरूका गुनासाहरू सम्बोधन गर्ने अहिलेसम्म कोही नभएको बताएका हुन् ।

अहिले संवैधानिक निकायको प्रशासनिक स्वायततामै धेरै समस्या रहेको रायाले बताए । महालेखा परीक्षक कार्यालय संवैधानिक निकाय भएपनि लेखापरीक्षकको मूल्यांकन मुख्यसचिवले गर्ने गरेकोमा रायाले प्रश्न उठाए ।

उनकाअनुसार संवैधानिक निकायका प्रमुखले आफ्ना कर्मचारीको मूल्यांकन गर्न नपाउनु ठिक होइन । यसरी स्वायतत्ता मिच्दा लेखापरीक्षकले राम्रो नगर्दा उसलाई सजग बनाउन समेत आफूले नपाएको गुनासो गरे ।

रायाले त्यस्तो ऐनहरू संसदले बनाइदिएको भन्दै सांसद्हरुप्रति आक्रोश पोखे । पार्टीको ह्विपमा सांसद्हरुले कानून नपढी पास गर्दा संवैधानिक निकायको स्वायत्ततामाथि नै प्रश्न उठ्ने स्थिति आएको उनको भनाइ छ ।

रायाले संवैधानिक निकायभित्रका समस्याका बारेमा संसदीय समितिहरूले छलफल चलाउन पर्ने बताए । उनले एकएक समस्याहरू आफूले बताइदिने बताए । अहिलेसम्म संवैधानिक निकायभित्र रहेका समस्याहरू सुल्झाउने कोही नभएको बताउँदै महालेखा परीक्षक रायाले कानून बनाउने निर्माताहरुले गम्भीर रुपमा सोच्ने बेला आएको बताए ।

महालेखा परीक्षक रायाले भने –‘संवैधानिक निकायहरूका आआफ्नै समस्याहरू छन् । प्रशासनिक स्वायत्तता खोसिएको छ । कर्मचारीको सेवा सञ्चालन, लेखापरीक्षण सेवा भन्ने छ हामीसँग । त्यो लेखापरीक्षण सेवाको कर्मचारी महालेखा परीक्षकको कार्यालय भन्दा अन्त कतैपनि सरुवा हुन्न । त्यसको सेवा सञ्चालन अर्थमन्त्रालयले गर्छ । त्यो महालेखा परीक्षकलाई दिएको भए हुन्थ्यो । अर्को कुरा लेखापरीक्षकको कार्यसम्पादन मुल्यांकन मैले (महालेखा परीक्षक) ले गर्दिन । लेखापरीक्षकको कार्यसम्पादन मूल्य सचिवले गर्नुहुन्छ । सरकारले त्यो छोडेकै छैन । कर्मचारीले राम्रो गर्दा त ठिक छ तर कहिलेकाहीँ नराम्रो गर्दा म कहाँ गएर कराउने हो ?’

उनले सार्वजनिक लेखा समितिमा समेत समस्याबारे जानकारी गराउँदा समेत अहिलेसम्म केही नभएको बताए । रायाका अनुसार संवैधानिक निकायका प्रमुखहरूले नै यसरी गुनासो गर्दै हिड्नुपर्ने अवस्था आउनु बिडम्बनापूर्ण रहेको बताउँदै आम नागरिकले गुनासो गर्नुलाई समेत अस्वभाविक रुपमा लिन नहुने बताए ।

आम नागरिकले सोसल मिडियामार्फत गाली गरेर भनेर के भन्ने भन्दै रायाले हरेक विषयमा गम्भीर रुपमा सोच्नुपर्ने बेला आएको उनको भनाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 16 =