राज्यले कैदीबन्दीलाई थुनेर राखेर वार्षिक २ अर्ब खर्च गर्दैछ : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले कैदीबन्दीलाई राज्यले थुनेर राखेर वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको बताएकी छन् ।
बुधवार बसेको कानून न्याय तथा मानवअधिकार समितको बैठकमा उनले सरकारी तथ्याङ्ककै आधारमा हिसाव गर्दा कैदीबन्दीका व्यक्तिगत खाना, स्वास्थ्य, न्याय लगायतका कुराहरु २ अर्ब २७ करोड ४४ लाख ८ हजार १ सय ६४ रुपैयाँ वार्षिक हुने गरेको उनको भनाई छ ।
सरकारले गतवर्ष प्रतिकैदी ७९ हजार १ सय ९८ रुपैयाँ खर्च गरेको थियो । देशभर हाल २७ हजार कैदीबन्दी रहेका छन् । मान्छे थुनेर राखेर दुई अर्व वार्षिक खर्च गर्नु भनेको ठूलो खर्च भएको सांसद गौतमको भनाई छ ।
उनले कैदीबन्दीलाई उत्पादनसंग जोड्न आवश्यक रहेको बताइन् । हालसम्म कैदीबन्दी लाई उत्पादनमा जोड्न नसकेको उल्लेख गर्दै उनले केही कैदीबन्दीले गरेका उत्पादनले पनि बजार नपाएको बताइन् ।
कैदीबन्दीलाई उत्पादनमा जोडेर उनीहरुको उत्पादनलाई बजारीकरण गर्न राज्यले ध्यान दिनुपर्ने उनको भनाई छ ।








