गोमतीदेवीको नक्कली मृत्युदर्ता बनाउनेलाई कानुनी दायरामा ल्याउन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रूपा सोशी चौधरीले कानुनतः मरिसकेकी गोमतीदेवी गिरी न्यायको खोजीमा हिँडेकी जनाउँदै उनलाई न्याय दिएर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेकी छन् ।

बैठकको आकस्मिक समयमा उनले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–४ की गोमतीका श्रीमान्ले छ वर्षअघि निजको मृत्युदर्ता गरेकाले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिन् । छ वर्षपछि मात्र गोमतीदेवीले आफू मरिसकेको थाहा पाएकी थिइन् ।

‘स्थानीय तहमा मुचुल्काबिना मृत्युदर्ता गर्न मिल्छ कि मिल्दैन?, अज्ञानताले भएको हो भने सच्याउनुपर्छ, नियत वा मिलेमतोमा गरिएको हो भने दोषीलाई कारबाही गर्नुपर्छ’, सांसद चौधरीले भनिन् । जीवित पीडित गोमतीलाई न्याय दिन पनि उनले सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद प्रभु साहले कारागार किन सुरक्षित नभएको प्रश्न गर्दै मङ्गलबार वीरगञ्ज कारागारमा समयमा उपचार नपाएर कैदी राहुल साहको निधन भएको बताए । कैलाली कारागारमा केही दिनअघि भरत चौधरीको मृत्यु भएको घटनाको जिम्मा कसले लिने भनी उनले सरकारको ध्यानाकर्षण गराए ।

सांसद साहले आर्थिक अनियमितता, लेनदेनलगायत कारणले कारागारमा समस्या हुने गरेको बताउँदै यसमा सरकारको लापरबाहीले यस्तो घटना भएको आरोप लगाए । जेललाई सुधार गृहमा लैजाने अभ्यास नभएकाले समस्या आउन थालेको उनको भनाइ छ ।

सांसद अम्बरबहादुर थापाले सरकारले भन्ने गरेको सुशासन कैलाली कारागारको घटनाले देखाएको बताए । सरकारको सुरक्षा घेराभित्र रहेका कैदीकै सुरक्षा हुन सक्दैन भने अन्त कता सुरक्षा हुन्छ ? उनले प्रश्न गरे ।

एक सय ५० कैदी राख्ने क्षमता भएको कारागारमा किन तीन गुणाभन्दा बन्दी राखिएको भन्दै उनले कैदीको सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद हितराज पाण्डेले पाँच जना सांसदले बोलिसक्दा पनि संसद्भित्रको टेलिभिजनले काम नगरेकाले देखिने गरी व्यवस्था गराउन सभामुखको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =