‘भिडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूसँग समयले जवाफ माग्नेछ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधको आरोपको खण्डन गर्दै न्यायालयको निर्णयमा सरकारको कुनै भुमिका नभएको स्पष्ट पारेका छन् ।
प्रतिनिधि सभामा बुधवारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सहकारीमा लाखौं जनताले गरेको वचत हिनामिना गर्ने मुद्दामा सयौं व्यक्तिमाथि कारबाही भइरहेको भन्दै न्याय प्रणालीमा सरकारको कुनै भुमिका नरहेको स्पष्ट पारे ।
उनले एउटा व्यक्तिमाथि राजनीतिक प्रतिशोध साँधिएको हो भने अरुमाथि के भइरहेको हो ? भन्दै प्रश्न समेत गरे ।
उनले लामिछानेलाई लक्षित गर्दै भिडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूसँग समयले जवाफ माग्ने समेत टिप्पणी गरे ।
उनले संसद बहिष्कार गर्ने तथा देशलाई भावनात्मक तथा हानिकारक उत्तेजनामा लैजानु अनुचित नभएको उल्लेख गर्दै अदालतको निर्णमा सरकारको हात नरहेको दोहो¥याए ।
उनले भने– ‘लाखौं जनताले सहकारीमा गरेको बचत हिनामिना गर्ने सयौं व्यत्तिमाथि मुद्दा चलेको छ । अदालतले मुद्दा हेरिरहेको छ । पूर्वमन्त्री, पूर्व सांसद, बहालवाला मेयर लगायत धेरै व्यक्तिहरु अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । तर पूर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजिएको छ । एउटा व्यक्तिमाथि राजनीतिक प्रतिशोध साँधिएको हो भने थुनामा रहेका अरु व्यक्तिहरुमाथि के भएको हो त ? अदालतले सबैलाई प्रतिशोध नै साँधेको हो त ? या सरकारले भनेजस्तै चल्दै गएको हो त सबै ? अनि सत्तापक्षका मान्छेहरु समेत थुनिएका सरकारले भनेर नै हो त ? भिडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सबै माग्नेछ । त्यस्ताका पछि लाग्ने भिड अचम्मको मात्र होइन दया लाग्दो छ । यस्ता कुरालाई लिएर संसदलाई बहिस्कार गरेर विष्मयकारी, भावनात्मक र हानिकारक उत्तेजनामा देशलाई लैजानु कदापि उचित हुदैन । न्यायालयले गर्ने निर्णय सरकार अनुकुल वा प्रतिकुल जे भएपनि त्यसमा सरकारको कुनै हात हँुदैन भन्नेकुरा बुझ्न जरुरी छ ।’
प्रधानमन्त्री ओलीले मुलुकको बिग्रिएको अर्थतन्त्रलाई सुधार गर्नको लागि संसदका दुई ठूला दलहरुको समिकरणमा सरकार गठन गरिएको समेत बताए । हाल विपक्षमा रहेका दलहरुलाई स्थिरता अप्रिय लागेको उनको आरोप छ ।








