नापी प्रमुखलाई मोसो दल्ने नेकपा (बहुमत)का जिल्ला सेक्रेटरी पक्राउ

चितवन । चितवनको खैरहनीस्थित नापी कार्यालयका प्रमुख शालिग्राम लम्साललाई मोसो दलेको आरोपमा प्रहरीले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का जिल्ला सेक्रेटरीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले पार्टीका जिल्ला सेक्रेटरी ध्रुव खड्कालाई मंगलबार साँझ पक्राउ गरेको पुष्टि गरेको हो ।

मंगलबार दिउँसो, सेवाग्राहीको भेषमा नापी कार्यालय प्रवेश गरेका दुईजना युवकले कार्यालय प्रमुख लम्सालमाथि कालो मोसो छ्यापेर फरार भएका थिए । घटनाले जिल्लाको प्रशासन र सेवा प्रवाहमा सुरक्षाको प्रश्न उठाएको छ । घटनालगत्तै प्रहरीले अनुसन्धान तीव्र पारेको थियो ।

यसैबीच, नेकपा (बहुमत) ले एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो कार्यकर्ताको पक्राउप्रति घोर भर्त्सना गरेको छ । पार्टीले खड्कालाई ‘प्रतिशोधपूर्ण’ तरिकाले पक्राउ गरिएको आरोप लगाउँदै उनको अविलम्ब र निःशर्त रिहाइको माग गरेको हो ।

पार्टीका चितवन इन्चार्ज ‘दीपक’ द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी देशको विद्यमान कुशासन, बेथिति र सामाजिक विभेदका विरुद्ध निरन्तर र दृढतापूर्वक संघर्ष गरिरहेको छ । दलाली, माफियागिरी र भ्रष्टाचार विरुद्ध जनआवाजको नेतृत्व गरिरहेको छ, जो देश र जनताप्रतिको हाम्रो कर्तव्य एवम् पार्टीको घोषित नीति हो ।’

विज्ञप्तिमार्फत पार्टीले आफ्ना नेताको रिहाइका लागि दबाब सिर्जना गर्न आमजनता र जनपक्षधरहरूमा हार्दिक अपिलसमेत गरेको छ । प्रहरीले भने घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =