संस्कृति नीति छिटै पारित हुन्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लामो समयदेखि मन्त्रिपरिषद्मा अल्झिएको संस्कृति नीति छिट्टै पारित हुने बताएका छन् ।
मंगलवार संग्रहालय (द म्युजियम) विमोचन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री स्वयंले संस्कृति नीतिप्रति विशेष रुचि देखाएका कारण उनलाई आवश्यक ब्रिफिङ गर्ने तयारी भइरहेको मन्त्री पाण्डेको भनाइ छ ।
उनले नेपालको संस्कृतिभित्रको बहुआयामिक पाटोलाई उजागर गर्नेगरी संस्कृति नीति ल्याइने बताए ।
उनले संस्कृतिलाई समाज, व्यक्ति र संस्थाको प्राण तत्वका रूपमा परिभाषित गर्दै यसको बहुआयामिक पक्ष जनमानसमा फैलाउन सरकार प्रयासरत रहेको पनि बताए ।
भोलिको दिनमा देशलाई सही ठाउँमा जानको लागि संस्कृतिले दिशावोध गर्ने उनको भनाइ छ ।
मन्त्री पाण्डेले देशभर रहेका संग्रहालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले आवश्यक गृहकार्य गरिरहेको पनि बताए ।








