कानुन व्यवसायीहरू समाज सुधारका अभियन्ता हुन् : कानूनमन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले कानुन व्यवसायीहरू पेसाकर्मी मात्रै नभई समाज सुधारका अभियन्ता भएको बताएका छन् ।
काठमाडौँमा मंगलवार कानुन व्यवसायी परिषद्को ३२ औँ परिषद् स्थापना तथा आत्ममूल्यांकन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सूचना, सञ्चार र प्रविधिको विकाससँगै समाजमा आएका परिवर्तनले जनमानसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनका विषयमा भ्रम तथा यथार्थताका लागि केही अन्यौलता सिर्जना भएको बताए । उनले यथार्थताबारे जानकारी गराउन कानुन व्यवसायीहरूले सही भूमिका खेल्न आवश्यक रहेको बताए ।
आफ्नो पेसागत आचरणलाई पालन गर्दै समाज सुधारको रूपमा भूमिका खेल्ने कानुन व्यवसायीहरूका लागि नेपाल कानुन व्यवसायी परिषद्ले समयानुकूल ज्ञान, सीप र दक्षता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।
उनले भने ‘कानुन व्यवसायी पेसाकर्मी मात्र नभएर लोकतान्त्रिक व्यवस्थाका लागि पटक पटक भएको आन्दोलनका योद्धा एवं समाज सुधारका अभियन्ता समेत हुन् । सूचना, सञ्चार र प्रविधिको विकाससँगै समाजमा आएका परिवर्तनले जनमानसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनका विषयमा भ्रम तथा यथार्थताका लागि केही अन्यौलता सिर्जना भएको पाइन्छ । यथार्थताबारे जानकारी गराउन कानुन व्यवसायीहरूले सही भूमिका खेल्न आवश्यक छ । आफ्नो पेसागत आचरणलाई पालन गर्दै समाज सुधारको रूपमा भूमिका खेल्ने कानुन व्यवसायीहरूका लागि नेपाल कानुन व्यवसायी परिषद्ले समयानुकूल ज्ञान, सीप र दक्षता अभिवृद्धिका लागि कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको छ ।’
मन्त्री चौरसियाले कानुनी शिक्षालाई थप स्तरीय बनाउन जरुरी रहेको बताए ।








