रूपान्तरण भाषण गरेर आउँदैन : इन्दिरा राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले रूपान्तरण भाषण गरेर मात्रै नआउने बताएकी छन् ।
ललितपुरमा मंगलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले युवाहरूलाई अब हरेक नीति निर्माणको तहमा ल्याउन जरुरी रहेको बताइन् । उनले अहिले अंग्रेजी युकेजीमा पढ्ने बालकले समेत राम्रोसँग बोल्ने भन्दै अंग्रेजी भाषाबाट धेरै कुरा सिक्ने गरिएको बताइन् । उनले प्रविधिको विस्तारसँगै हुने नकारात्मक सूचनाहरू भने अभिभावकहरूले विचार गर्नुपर्ने बताइन् ।
स्थानीयहरूको मर्म बुझेको, गाउँलाई बुझेको व्यक्तिलाई नै जनताले छान्नुपर्ने बताइन् ।
उनले भनिन् ‘वास्तवमा रूपान्तरण भन्नेकुरा बोलेर, भाषण दिएर हुँदैन । बच्चाहरूलाई एक्सनमा ल्याउनुपर्छ । युवाहरूलाई । उनीहरूलाई स्थान दिनुपर्छ । अंग्रेजी सिक्न टिचर चाहिँदैन । बच्चाहरू हामी भन्दा जान्ने हुन्छन् आफैँ । युकेजी पढ्ने बच्चाले मज्जाले अंग्रेजी बोलिदिन्छ । मैले नजानेको वर्ड उसलाई थाहा हुन्छ । इंग्लिसबाट धेरै इन्फरमेसनहरू बच्चाहरूले पाइरहेको छ । यसलाई कसरी राम्रोसँग म्यानेज गर्ने भन्ने हो । गलत सूचनामा हामीले ध्यान दिनुपर्छ ।’
उपसभामुख रानाले देशको शैक्षिक स्थिति नाजुक रहेको बताइन् । उनले हरेक क्षेत्रमा युवालाई समावेश गरेर अघि बढ्न जरुरी रहेको बताइन् ।








