एकअर्कालाई ‘पार्टी छाड’ भन्ने माधव-झलनाथ अन्ततः ‘चुप’ लाग्न तयार

काठमाडौं । सार्वजनिक मञ्चबाटै एकअर्कालाई पार्टी छाड्न चुनौती दिनेसम्मको वाकयुद्धले नेकपा (एकीकृत समाजवादी) भित्र संकट गहिरिएपछि शीर्ष नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल अन्ततः सार्वजनिक रुपमा नबोल्न सहमत भएका छन् । पार्टीका अन्य शीर्ष नेताहरुको निरन्तरको पहलपछि अध्यक्ष नेपाल र सम्मानित नेता खनाल एकअर्काविरुद्ध सार्वजनिक टिप्पणी नगर्ने ‘भद्र सहमति’ मा पुगेका हुन् ।
पछिल्ला दिनमा नेता खनालले चार वर्षअघि गरिएको विद्रोहको औचित्यमाथि प्रश्न उठाएपछि सुरु भएको विवादले उग्र रुप लिएको थियो । खनालको उक्त अभिव्यक्तिपछि आक्रोशित अध्यक्ष नेपालले सार्वजनिक रुपमै खनाललाई पार्टी छाडेर ‘एमालेको सेवा गर्न’ जान सुझाव दिएका थिए । जवाफमा खनालले पनि ‘अझैसम्म जबज (जनताको बहुदलीय जनवाद) भनिरहने’ माधव नेपालका लागि उपयुक्त पार्टी एमाले नै भएको कडा प्रतिक्रिया फर्काएका थिए ।
दुई पूर्वप्रधानमन्त्री तथा पार्टीका शीर्षस्थ नेताबीचको आरोप(प्रत्यारोपले पार्टी पंक्तिमा निराशा र अन्योल बढाएपछि वरिष्ठ नेताहरु बेदुराम भुसाल, राजेन्द्र पाण्डे, महासचिव घनश्याम भूसाल र नेता प्रमेश हमालले मिलापका लागि पहल थालेका थिए । सोही प्रयास अन्तर्गत शनिबार र सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेताद्वयलाई सँगै राखेर अढाई घण्टाभन्दा लामो छलफल गरिएको थियो ।
छलफलमा अध्यक्ष नेपालले पार्टीभित्रका असहमति र आफ्ना भनाइहरु बैठकमा राख्न नेता खनाललाई आग्रह गरेका थिए । ‘अन्तर्वार्ता दिँदै हिँड्दा कुरा झन् बिग्रियो, जे भन्नुछ पार्टीको बैठकमै भन्नुस्,’ बैठकमा नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
आफ्ना प्रस्ताव र मुद्दाहरुमाथि पार्टीको औपचारिक बैठकमै छलफल हुने सुनिश्चित भएपछि खनाल पनि सार्वजनिक अभिव्यक्ति नदिनेमा सहमत भएको बताइएको छ । ‘आफ्नो प्रस्तावमा बैठकमै छलफल हुने भएपछि सार्वजनिक रुपमा नबोल्न झलनाथ खनाल पनि सहमत हुनुभएको छ,’ स्रोतले बतायो । वरिष्ठ नेता बेदुराम भुसालले पनि नेताहरु आचारसंहिता र विधानको दायरामा रहनुपर्ने विषयमा छलफल केन्द्रित रहेको पुष्टि गरे ।
सहमति सतहमा, अन्तर्विरोध कायमै
यो ‘भद्र सहमति’ ले सार्वजनिक घोचपेचलाई तत्कालका लागि रोके पनि दुई नेताबीचको अन्तरविरोधको मूल जड भने यथावतै रहेको नेताहरु स्वीकार्छन् । पतञ्जली योगपीठको जग्गा हिनामिना प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि अध्यक्ष नेपालले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव सम्मानित नेता खनालले पार्टी बैठकमा राखेका थिए । असारमा खनालले राखेको यही प्रस्तावप्रति नेपाल असन्तुष्ट छन् र यसैले दुई नेताबीच दूरी बढाएको हो ।
अब यो विषयले पार्टीको औपचारिक बैठकमा प्रवेश पाउने भएको छ । आगामी साउन ३० गते बस्ने पार्टीको सचिवालय बैठकमा यसबारे छलफल हुने तय भएको छ । ‘सचिवालयकै बैठकमा भन्नुपर्ने कुरा नेताहरुले राख्नुहुनेछ, तर सार्वजनिक आरोप लगाएर अन्तर्वार्ता दिने र प्रतिक्रिया जनाउने काम रोक्ने भद्र सहमति भएको छ,’ पार्टीका एक नेताले भने । यसले तत्कालका लागि एकीकृत समाजवादीभित्रको कलह मत्थर भए पनि आगामी बैठकमा उठ्ने मुद्दाले पार्टीको भविष्यको दिशा तय गर्ने निश्चित छ ।








