संघीय संसद्अन्तर्गत दुई समितिको बैठक बस्दै, यी विषयमा छलफल हुने

काठमाडौँ । संघीय संसद भवन सिंहदरबारमा आज दुई छुट्टाछुट्टै समितिको बैठक बस्दै छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति र राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्न लागेको हो ।
संघीय संसद सचिवालयका अनुसार, प्रतिनिधि सभाको अर्थ समितिको बैठक बिहान ११:०० बजे समितिको आफ्नै सभाकक्षमा सुरु हुनेछ । आजको बैठकमा “वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । यो विधेयक देशको विकास परियोजनाहरूका लागि परम्परागत स्रोतभन्दा बाहिरबाट वित्तीय स्रोत जुटाउने विषयमा केन्द्रित छ ।
त्यसैगरी, राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११:३० बजे बस्नेछ । यो बैठकमा “डिजिटल गभर्नेन्स अवलम्बन गर्ने सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारबाही एवं कार्ययोजना” बारे छलफल हुनेछ ।
सार्वजनिक सेवालाई प्रविधिमैत्री, छिटो र पारदर्शी बनाउने उद्देश्यले सरकारले अघि सारेका डिजिटल गभर्नेन्सका प्रयासहरू र भविष्यका योजनाहरूबारे समितिले सरोकारवालासँग छलफल गर्नेछ । छलफलका लागि समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्री र मन्त्रालयका सचिवलाई समेत आमन्त्रण गरेको छ ।








