शेख हसिनाविरुद्ध भ्रष्टाचार मुद्दामा सुनुवाइ, दोषी ठहरिए १४ वर्षसम्म कैद हुने

एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना र उनका परिवारका सदस्यहरूविरुद्ध दायर गरिएको भ्रष्टाचारसम्बन्धी मुद्दामाथि सोमबार ढाकास्थित एक अदालतमा सुनुवाइ भएको छ।
भ्रष्टाचार विरुद्धको सरकारी संस्था एसीसीले दायर गरेको सो मुद्दामा शेख हसिना, उनका छोरा सजीब वाजेद जोय, र छोरी साइमा वाजेद लगायतका नाम छन्। साइमा हाल नयाँ दिल्लीमा विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्व एसिया क्षेत्रीय प्रमुखको रूपमा कार्यरत थिइन्, तर अहिले उनी बिदामा रहेको जनाइएको छ ।
सुनुवाइका क्रममा एसीसीका तीन अधिकारीहरूले राजधानी ढाकाको उपनगरमा आकर्षक सरकारी जग्गा हडपिएको आरोपमा दर्ता गरिएका तीन अलग–अलग मुद्दाका विवरण अदालतमा पढेर सुनाएका थिए ।
७७ वर्षीया शेख हसिना सन् २०२४ अगस्ट ५ मा बङ्गलादेशबाट हेलिकप्टरमार्फत भागेर भारत पुगेकी थिइन्। विद्यार्थी आन्दोलनको चर्किएको दबाबपछि उनी देश छाड्न बाध्य भएकी हुन्। उनीमाथि अहिले एक दर्जनभन्दा बढी मुद्दा दर्ता छन् ।
यसैबीच, उनले भारतमा रहँदै बङ्गलादेशको अदालतको उपस्थितिको आदेशको अवज्ञा गरेको आरोप समेत लागेको छ । उनीमाथि विद्रोह दबाउने क्रममा गरिएको कथित दमनका कारण मानवताविरुद्धको अपराध अन्तर्गत छुट्टै मुद्दा पनि चलिरहेको छ ।
यदि शेख हसिना र उनका परिवारका सदस्यहरू यस मुद्दामा दोषी ठहरिए, १४ वर्षसम्मको कैद सजाय हुनसक्ने एसीसीका वकिल खान मोहम्मद मैनुल हुसेनले एएफपीसँग बताएका छन् ।
शेख हसिनासँग सम्बन्धित भ्रष्टाचारका ६ वटा मुद्दा दर्ता छन् । तीमध्ये केहीमा उनकी बहिनी शेख रेहाना र बेलायती सांसद टुलिप सिद्दिकका नाम पनि जोडिएका छन् ।
शेख हसिनाकी भान्जी तथा बेलायती सांसद टुलिप सिद्दिकले आफूमाथिको आरोप झुटो भएको दाबी गरेकी छन् । गत जनवरीमा बेलायती सरकारका भ्रष्टाचारविरोधी मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएकी सिद्दिकले त्यसपछि राजीनामा दिएकी थिइन् । उनका वकिलले अदालतमा दिएको बयानमा उनलाई मुद्दामा तानिएको कुरा निराधार रहेको बताएका छन् ।








