गैरआवासीय नेपालीलाई नागरिकता दिन विधेयक मस्यौदा लेखन भइरहेको छ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिक (एनआरएन) लाई नागरिकता दिने व्यवस्था गर्न विधेयक मस्यौदा लेखन कार्य भइरहेको बताएका छन् ।

राष्ट्रिय सभाको विधेयक व्यवस्थापन समितिको बैठकमा नागरिकतासम्बन्धी विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्थासँग सम्बन्धित नरहेको स्पष्ट पारे । उनले नागरिकता लिने प्रक्रियामा सहयोग नगरेको खण्डमा आमाको नाम नराखेर पनि नागरिकता लिन सकिने प्रस्ताव स्वीकार गरे । उनी जबरजस्ती करणीबाट जन्मिएका बालबालिकालाई नागरिकता दिने विषय समेत विधेयकले सम्बोधन गरेको बताए ।

आमाको थरबाट नागरिकता पाउने व्यवस्था विद्यमान कानुनले नै दिएको भएपनि पैतृक सम्पत्ति पाउन मुस्किल हुनेतर्फ बहस र छलफल आवश्यक रहेको बताए ।

उनले भने ‘बाबुको नाम नराखेर नागरिकता लिन मिल्छ भने आमाको नाम नराखेर कि नमिल्ने भन्ने प्रश्न उठेको छ । हुन्छ । तर आमा बाबु जति कठोर हुन सक्दैन । आमाको नाम समेत नराखेर नागरिकता लिन मिल्ने कुरालाई ग्रहण गर्छु । यो समस्या हुने समस्या होइन । उजुरी दिने समयावधिमा पनि प्रश्न उठेको छ । कैफियत प्रतिवेदनका लागि निर्णय गर्न कति समय लाग्छ भन्ने कुरामा ३० दिन राखेका हौँ । यसलाई चरणबद्ध रूपले सीमा तोक्ने विषय पनि स्वीकारयोग्य विषय छ । नाबालक भएको बेला स्वघोषणा गलत भएको अवस्थामा तोकिएको सजायबारे पनि सोच्न सकिन्छ । गैरआवासीय नागरिकको नागरिकतासँग यो विधेयक सम्बन्धित नै छैन । गैरआवासीय नागरिकको नागरिकताको लागि छुट्टै विधेयक मस्यौदा लेखन भइरहेको छ । चाँडै नै संघीय सदनमा लैजान्छौँ । जबरजस्ती करणीको बालकको बारेमा भएको व्यवस्था पनि यही विधेयकले समावेश गर्छ । त्यस्ता बालकलाई नागरिकता दिने अधिकार यो विधेयक सुनिश्चित गर्छ । आमाको थरबाट नागरिकता पाउने व्यवस्था अहिलेकै कानुनमा छ । सम्पत्तिको हकमा समस्याबारे कुरा उठेका छन् । यसबारे छलफल गर्न सकिन्छ ।’

ब्रिटिस गोर्खाका सन्तानलाई नेपाली नागरिकता उपलब्ध गराउने विषय सम्बोधन गर्न संविधान पुनरावलोकन गर्नुपर्ने बताए । उनले नागरिकता विधेयकलाई छिटो टुंग्याउन समेत समितिसँग आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 6 =