विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी युवा पुस्ताको हो : मन्त्री गुरुङ

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा पुस्ता भविष्यको कर्णधार मात्रै नभई देशको विद्यमान समस्या समाधान गर्ने जिम्मेवारी पनि भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा नेपाल युवा संस्था सञ्जाल (आयोन) नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले समाज र संसारलाई परिवर्तन गर्नसक्ने क्षमता युवा नेतृत्वमा हुन सक्ने विश्वास व्यक्त गरे । मन्त्री गुरुङले केही न केही परिवर्तन गरेर उत्कृष्ट नीतिमा देशलाई अगाडि बढाउन युवा नेतृत्वको आवश्यकता छ भने ।

‘दिवसमा छलफल मात्रै गर्ने होइन, प्रतिबद्धता कार्यान्वयन महत्त्वपूर्ण हो, युवालाई दिगो विकास लक्ष्यको स्थानीय साझेदार कसरी बनाउने भनेर ध्यान दिनुपर्छ, नेपाली युवाले विदेशमा सूचना प्रविधि क्षेत्रको कम्पनी स्थापना गर्न सक्ने, आम्दानी भित्र्याउन सक्नेगरी कानुनी प्रबन्ध गरेका छौँ’, सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले भने ।

सूचना प्रविधि क्षेत्रको साझेदार र हिस्सेदार युवा हो भन्दै मन्त्री गुरुङले नेपालको विकासमा युवाको सहभागिता महत्त्वपूर्ण भएकाले उनीहरूलाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘सूचना प्रविधिको क्षेत्रमा भएको परिवर्तनलाई दिगो विकास लक्ष्यसँग जोडेर कसरी कार्यान्वयन गर्ने र युवाको भूमिका के हुनसक्छ भनेर छलफल होस्, स्थानीय तह, प्रदेश र सङ्घीय सरकारबीच समन्वय र आन्तरिक कार्यान्वयन कसरी गर्न सकिन्छ भनेर ध्यान दिनु आवश्यक छ ।’

युवामा नेपाल सरकारका सन्देश प्रवाह गर्दै मन्त्री गुरुङले हरेक तह, क्षेत्र र संरचनामा युवाको सहभागिता सुनिश्चित गर्ने, स्वीकार गर्नेलगायतका नीति मन्त्रालयले बनाइरहेको बताए । उनले भने, ‘राष्ट्रिय युवा नीति छलफलको क्रममा छ, संसद्को समितिमा पुगेको छ, १८ देखि ३५ वर्षसम्मका लागि युवा मान्ने नीति बन्दै छ । हामी चाँडोभन्दा चाँडो सूचना प्रविधिसँग जोडिएका ऐनहरू बनाउने तयारीमा छौँ, सबै युवाहरू सूचना प्रविधिको क्षेत्रमा लाग्नूस्, आर्थिक समृद्धि हासिल गर्नुस् ।’

मन्त्री गुरुङले अन्तर्राष्ट्रिय रूपमा निर्धारण गरेको विकास लक्ष्य प्राप्त गर्नका युवाको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले भने, ‘डिजिटल नेपाललाई जोड्ने र पर्यटन क्षेत्रमा युवा र कृत्रिम बौद्धिकताको भूमिका, सूचना प्रविधि क्षेत्रको भूमिकाबारे छलफल चलिरहेको छ, अबको समय तपाईंको डाक्टर पनि कृत्रिम बौद्धिकता हुनसक्छ, मेडिकल विज्ञानमा कृत्रिम बौद्धिकताको भूमिका छ, अबको युग कृत्रिम बौद्धिकताको युग हो, सञ्चार मन्त्रालयले यसको नीति बनाएको छ, नियमावली बनाउने चरणमा छौँ, डिजिटल नेपालको पोर्टल सञ्चालन गर्ने तयारीमा छौँ, फाइभ–जी यस वर्ष लागू गर्ने तयारीमा छौँ ।’

मन्त्री गुरुङले वर्तमान युगमा इन्टरनेटमा पहुँच पनि अनिवार्य आवश्यकता बनिसकेको उल्लेख गर्दै प्रविधिको पहुँचमा रहेको असमानता हटाउन कुनै पनि घर, समुदायलाई छोड्न नहुने बताए । उनले भने, ‘प्रत्येक नागरिकमा फोर–जीको पहुँच पुर्‍याउने छौँ, नेपालको आफ्नै स्याटेलाइट बनाउनेमा ध्यान दिएका छौँ, भूउपग्रह नीति यसै वर्ष लागू गर्ने तयारीमा छौँ ।’

प्रत्येक प्रदेशमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने तयारीमा सरकार लागिपरेको उल्लेख गर्दै मन्त्री गुरुङले सीप विकास गर्ने, नयाँनयाँ प्रविधिहरूको पहिचान गर्ने विषयलाई सरकारले ध्यान दिएको जानकारी दिए ।

उनले भने, ‘तथ्याङ्क केन्द्रको स्थापना महत्त्वपूर्ण छ, विद्युत्ले संसारको अर्थतन्त्रलाई परिवर्तन गरिदिएको छ, नेपाल सूचना प्रविधि क्षेत्रको हब हुन सक्छ, संसारभरका सूचना प्रविधि क्षेत्रका अनुसन्धानकर्ताहरूको केन्द्र नेपाल हुन सक्छ, समाजको परिवर्तनका लागि नेतृत्व गर्ने व्यक्ति नेता हो, युवाले समृद्ध डिजिटल नेपालका लागि नेतृत्व गर्न सक्नुपर्छ ।’

प्रविधि र नवप्रवर्तनलाई ध्यानमा दिएर काम गर्न सकियो भने दिगो विकास लक्ष्य हासिल गर्दै समृद्धि हासिल गर्न धेरै राम्रो हुनसक्ने बताउँदै मन्त्री गुरुङले स्थानीय तहमा सोचेर संसारभर प्रभाव पार्नेगरी समृद्ध डिजिटल नेपालको कार्यान्वयन आवश्यक रहेको बताए ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवालाई नीति निर्माणदेखि कार्यान्वयनका तहसम्म समावेश गराउन ध्यान दिँदै युवामैत्री वर्तमान भविष्यका लागि उद्यमशीलता र रोजगारीसँग जोड्नका लागि ध्यान दिनुपर्ने बताए ।

आयोनका पूर्वकार्यकारी सदस्य तिलोतमा पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देशमा युवालाई राजनीतिक नेतृत्वमा स्थापित गर्न ध्यान दिएर प्राथमिकताका आधारमा काम गरिनुपर्नेमा जोड दिए ।

सन् २००५ मा स्थापना भएको आयोन सात वटै प्रदेशमा रहेका विभिन्न ९२ वटा युवा संस्थाको छाता संस्था सञ्जाल हो । यस संस्थाले स्थापनाकालदेखि युवा क्षमता अभिवृद्धि, स्वयंसेवक परिचालन, विपद् व्यवस्थापन, युवाका सवालमा पैरवी, नीति निर्माण तहमा युवाको सहभागिता तथा समग्र राष्ट्र निर्माणका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगको साझेदारी र समन्वयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जानकारी गराइएको छ ।

संयुक्त राष्ट्रसङ्घको सन् १९९९ को साधारणसभाबाट हरेक वर्ष १२ अगस्तलाई ‘अन्तर्राष्ट्रिय युवा दिवस’ का रुपमा मनाउने निर्णय भएअनुसार आयोनले ‘दिगो विकास लक्ष्य र त्यसपछिका लागि स्थानीय युवाको नेतृत्व’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवसका सन्दर्भमा कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fourteen =