टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प : एक वृद्धको मृत्यु, २९ घाइते

टर्की । टर्कीको उत्तरपश्चिमी प्रान्त बालिकेसिरमा आइतबार साँझ ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा एक जनाको मृत्यु भएको छ भने कम्तिमा २९ जना घाइते भएका छन् । भूकम्पले १६ वटा भवनहरू ध्वस्त बनाउँदा त्यहाँको जनजीवन प्रभावित बनेको छ ।

स्थानीय समयअनुसार साँझ ७:५३ बजे बालिकेसिर प्रान्तको सिन्दिरगी जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो । जमिनबाट करिब ११ किलोमिटर गहिराइमा गएको उक्त भूकम्पको धक्का करिब २०० किलोमिटर टाढा रहेको टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलसम्म महसुस गरिएको थियो ।

सिन्दिरगीमा भत्किएको एउटा भवनको भग्नावशेषबाट उद्धार गरिएका एक ८१ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको छ । सोही भवनबाट अन्य चार जनालाई भने जीवितै उद्धार गरिएको थियो । प्रान्तका विभिन्न ग्रामीण क्षेत्रहरूमा गरी जम्मा १६ वटा भवनहरू भत्किएका छन्, जसमध्ये अधिकांश पुराना र प्रयोगविहीन थिए । भूकम्पका कारण दुईवटा मस्जिदका मीनारहरू पनि भत्किएका छन् । घाइते भएका २९ जनाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

भूकम्पलगत्तै उद्धार टोलीहरू तत्काल घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्यमा जुटेका थिए । मुख्य भूकम्पपछि ४.६ म्याग्निच्युडसम्मका कयौं पराकम्पनहरू गएकाले स्थानीय बासिन्दालाई क्षतिग्रस्त भवनहरूमा प्रवेश नगर्न आग्रह गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =