माधव कमरेडलाई १९ करोडको मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा लागेको भ्रष्टाचार मुद्दाका कारण मार्गप्रशस्त गर्न सचिवालय बैठकमा राखेको प्रस्तावलाई बदलाको भावना वा सत्ताच्युत गर्ने उद्देश्यका रूपमा नबुझ्न आग्रह गर्नुभएको छ । उनले यस्ता टिप्पणीहरूलाई कच्चापन र बचपनाको संज्ञा दिँदै असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्मविपरीतका कुराहरू नगर्न नेताहरूलाई आग्रह गरे ।

पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री तथा अध्यक्ष नेपालमाथि भ्रष्टाचार आरोपको मुद्दा छ । यो मुद्दा २०६६ सालमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेपलाञ्चोकको बनेपामा हदबन्दी छुटमा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी १५ आना काष्ठमण्डप हाउजिङ कम्पनीलाई बेचेको प्रकरणसँग सम्बन्धित छ । माधव नेपालले २०६६ माघ १८ मा मन्त्रिपरिषद्को निर्णयमार्फत पतञ्जलीलाई ८ सय १५ रोपनी जग्गा खरिद गर्न हदबन्दी छुट दिएको र दुई महिना नबित्दै २०६६ चैत ६ मा उक्त जग्गा बेच्न स्वीकृति दिएको आरोप छ । यो निर्णय कानूनविपरीत भएको र नीतिगत भ्रष्टाचार भएको भन्दै अख्तियारले २०८२ जेठ २२ मा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ । नेपालको सांसद पद निलम्बनमा छ ।

सोही विषयमा सम्मानित नेता खनालले यस्तो किसिमको बचपना नदेखाउन पनि नेता, कार्यकर्ताहरूलाई आग्रह गरे । पार्टी नेताहरूले उक्त मुद्दा माधव नेपाललाई मात्रै लागेको मुद्दा नभई पार्टीलाई नै लागेको मुद्दा हो भन्ने टिप्पणी गरिरहेको भन्दै यो गलत रहेको बताए । सबैलाई लागेको राजनीतिक मुद्दा हो भनेर बेतुकका कुराहरू गर्नु उचित नहुने उनको भनाइ छ । असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्म र भावनाविपरीतका कुराहरू नगर्न पनि आग्रह गरे । यसले अध्यक्ष नेपाललाई झन् बढी समस्यामा पार्ने जिकिर सम्मानित नेता खनालको छ ।

उनले भने, ‘उनले (माधव नेपाल) कसरी पार्टी छोडेर गइदिए हुन्थ्यो भन्ने शब्द खुस्काउनुभयो । म अचम्मित छु । माधव कमरेडलाई यत्रो ठूलो मुद्दा लागेको छ । १९ करोडको मुद्दा लागेको छ । तर कसरी माधव कमरेडलाई बचाउने होला, उनको मुद्दालाई अनुकूल कसरी बनाउने होला । उनको प्रतिवादलाई कसरी प्रभावकारी बनाउने होला ? यो कुरामा म जहिले पनि सोचिरहेको छु । मैले सचिवालयमा राखेको प्रस्ताव पनि त्यसै दिशामा छ । उनलाई अनुकूलता थपियोस् भनेर । ताकि उनले यो मुद्दाबाट मुक्ति पाउन सकून् भनेर । तर अब कतिपय मान्छेहरू यो कहाँ माधव नेपाललाई मात्रै लागेको मुद्दा हो, यो त पार्टीलाई नै लागेको मुद्दा हो, यो त सबैलाई लागेको राजनीतिक मुद्दा हो भनेर बेतुकका कुराहरू, असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्म र भावनाविपरीतका कुराहरू गर्न थालेका छन् । त्यसले माधव नेपाललाई झन् बढी खोक्रोमा हाल्ने काम गर्दछ । यो कुरा माधव कमरेडले स्वयं बुझिदिए कति राम्रो हुन्थ्यो । उनले मुद्दा पहिलो पटक मात्रै देखेको, बुझेको होइन होला । थुप्रै नेता, कार्यकर्तामाथि मुद्दा लागेका छन् । केपी कमरेड, आरके कमरेड, घनेन्द्र कमरेडमाथि मुद्दा लागेको थियो । ती मुद्दाका विरुद्ध एउटा पञ्चायती तानाशाही शासनले मुद्दा लगाएको थियो । ती मुद्दाका विरुद्ध हामीले व्यापक रूपमा लड्यौँ त । राजनीतिक रूपले लड्यौँ, कानुनी रूपले लड्यौँ । यसमा उनले धेरै कच्चा काम गर्नुहोला भनेर आशा गर्दिनँ । परिपक्व काम गर्नुस् भनेर नै मैले एउटा प्रस्ताव नै प्रस्तुत गरेको छु । त्यो प्रस्ताव असाध्यै सोचि विचारीकन यो पार्टी जस्तो रिभोलुसनरी पार्टीले कस्तो स्ट्यान्डर बसाउने भन्ने हो । मैले मार्क्सवादी प्रस्ताव र नयाँ नजिर बसाउने प्रस्ताव प्रस्तुत गरेको छु । त्यो प्रस्तावलाई यो त माधव कमरेडलाई उखेलेर फ्याँक्ने, सत्ताच्युत गर्ने, बदलाको भावना लिएर आउने भन्ने गरी कसैले हेरेको छ भने यो असाध्यै कच्चापन हो । बचपनापन पनि हुनेछ ।’

उनले अध्यक्ष नेपालमाथि १९ करोड बराबरको मुद्दा लागेको र आफूले उनलाई कसरी बचाउने होला भनेर सोचिरहेको बताए । अध्यक्ष नेपालको मुद्दालाई अनुकूल कसरी बनाउने ? प्रतिवादलाई कसरी प्रभावकारी बनाउने होला ? भनेर सोचिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =