देशभर बाढीको जोखिम: ३९ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशभरका विभिन्न नदीहरूमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले विशेष गरी ३९ जिल्लाका बासिन्दालाई सजग रहन चेतावनी जारी गरेको हो ।

महाशाखाले आज बिहान जारी गरेको सूचनाअनुसार कोसी नदीको एउटा सहायक नदीमा पानीको बहाव सतर्कता तहको नजिक पुगेको छ। यद्यपि, नारायणी, बागमती, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई जस्ता प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै रहे पनि बढ्दो क्रममा रहेको जनाइएको छ । आज विशेष गरी दोलखा, सिन्धुपाल्चोक, डडेल्धुरा, कैलाली, र कञ्चनपुर जिल्ला तथा आसपासका क्षेत्रबाट बहने साना नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्नेछ । यी क्षेत्रहरूमा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको महाशाखाको पूर्वानुमान छ ।

त्यसैगरी, अन्य ३४ जिल्लाहरूमा पनि आकस्मिक बाढीको मध्यम जोखिम रहेको भन्दै महाशाखाले ती जिल्लाहरूलाई पहेँलो रङमा सूचित गरेको छ । जोखिममा रहेका जिल्लाहरूमा ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, लमजुङ, पर्वत, बागलुङ, म्याग्दी, प्युठान, बर्दिया, रुपन्देही, नवलपरासी पश्चिम, डोटी, र बैतडी रहेका छन् ।

महाशाखाले जोखिम क्षेत्रका बासिन्दाहरूलाई नदीतटीय क्षेत्रमा जाँदा विशेष सावधानी अपनाउन, जल तथा मौसमसम्बन्धी सूचनामा ध्यान दिन र कुनै पनि सम्भावित खतराबाट बच्न पूर्वतयारी गर्न अनुरोध गरेको छ । साना नदीहरूमा पानीको बहाव अप्रत्याशित रूपमा बढ्न सक्ने भएकाले थप चनाखो रहन सुझाव दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + seven =