नेपाली क्रिकेट टिमको जर्सी प्रायोजनमा नासा सेक्युरिटिज, ७ करोडभन्दा बढीको सम्झौता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीमा अब नासा सेक्युरिटिजको लोगो देखिने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच आइतबार भएको औपचारिक सम्झौतापछि नासा टिमको प्रमुख जर्सी प्रायोजक बन्न सफल भएको हो ।
सम्झौता कार्यक्रममा नेपाल राष्ट्रिय क्रिकेट टिमको नयाँ जर्सी समेत सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुर बहादुर चन्द र नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर मदन पौडेलले संयुक्त रूपमा जर्सी अनावरण गरे ।
सम्झौतापत्रमा क्यानका अध्यक्ष चन्द, जनरल म्यानेजर उत्सव ढुंगाना, नासा सेक्युरिटिजका म्यानेजिङ डिरेक्टर पौडेल र अनिल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
क्यानका सचिव पारस खड्काले बिडिङ प्रक्रियाबाट नासा छनोट भएको जानकारी दिँदै, उक्त सम्झौता ऐतिहासिक भएको बताए ।
उनका अनुसार सम्झौताअनुसार नासाले हरेक वर्ष २ करोड ३६ लाख रुपैयाँ उपलब्ध गराउनेछ । तीन वर्षको अवधि रहने यो सम्झौताबाट क्यानलाई कूल ७ करोड ८ लाख रुपैयाँ प्राप्त हुने छ ।
यस सम्झौतासँगै नेपाली क्रिकेटले व्यावसायिकताको नयाँ उचाइ लिएको क्यानको विश्वास छ ।








