राजसंस्था पुनर्स्थापना निकट छ, राप्रपा फुटाउने तागत कसैसँग छैन : अध्यक्ष लिङ्देन

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको बताएका छन् । अध्यक्ष लिङ्देनले पार्टीभित्र हाल देखिएको विवादले पार्टी विभाजन नहुने स्पष्ट पारेका हुन् । उनले राप्रपा अब कहिलै विभाजन नहुने बताए । विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृत्ति रहेको र त्यसको केही अवशेषहरु अझै भए पनि अब त्यो सम्भावना नरहेको उनको दाबी छ ।

उनले भने, ‘यो पार्टीलाई मैले बारम्बार भनेको छु, विभाजन गर्ने कसैसँग तागत पनि छैन र विभाजन गर्नुपर्ने कुनै कारण पनि छैन । अब राप्रपा कहिल्यै विभाजित हुँदैन । अब राष्ट्रिय प्रजातन्त्र पार्टीमा यो लामो समयदेखि एउटा प्रवृत्ति थियो । जो चित्त नबुझ्ने बित्तिकै अर्को पार्टी खोलिहाल्ने, फुटाइहाल्ने त्यो चिज मेरो कार्यकालमा आएन र त्यो देखिने गरी केही भएको थिएन तर कहिलेकाहीँ त्यो प्रवृत्तिको अवशेष देखिने कोसिस गर्छ तर अब त्यो सम्भावना पनि छैन राप्रपामा र म यति नै भन्छु यो विषय चाहिँ हामी पार्टीमै बसेर टुङ्ग्याउँछौँ ।’

उनले पार्टीभित्र देखिएका समस्या पार्टीभित्रै बसेर समाधान गर्ने पनि बताए । चित्त नबुझेका विषयहरु पार्टीका समितिहरुमा छलफल गर्ने र छलफलपछि निस्किएको निष्कर्षलाई सबैले मानेर जानुपर्ने बताए । पार्टीका समितिहरुमा आफ्ना कुरा पारित हुन नसके, चित्त नबुझे महाधिवेशनमा गएर नेतृत्वमाथि नै चुनौती दिन सकिने उनको भनाइ छ । तर पार्टीको आन्तरिक विषयहरु सञ्चारमाध्यममा लैजाने, शुभेच्छुकहरुमा भ्रम पार्ने जस्ता कामहरु गर्न नहुने उनले बताए ।

विवादबारे उनले भने, ‘बाहिर जो आइरहेको छ, यसलाई चाहिँ हामी पार्टीभित्रै बसेर समाधान पनि गर्छौं । त्यो विवादका पार्टका रुपमा रहेका साथीहरुलाई पनि म आग्रह गर्छु । पार्टी भनेको समान विचारका मानिसहरुको अथवा विचार मिल्ने मानिसहरुको संगठित संस्था हो । त्यसमा केही अनुशासन हुन्छ, केही पद्धतिहरु हुन्छन् । कमिटी प्रणाली हुन्छ । चित्त नबुझेका विषयहरु कमिटीमा छलफल गर्ने, छलफलपछि निस्किएको निष्कर्षलाई सबैले मानेर जाने, त्यसमा आफ्ना कुरा पारित हुन सकेन अल्पमतमा परियो चित्त बुझेन भने महाधिवेशनमा गएर टुङ्गो लगाउन सकिन्छ । नेतृत्वमाथि नै विश्वास भएन, नेतृत्वसँगै आफ्ना चित्त बुझेन भने नेतृत्वमाथि नै चुनौती दिने महाधिवेशनमा लाग्यो भने पनि पार्टीभित्र ती प्रक्रियाहरु खुल्ला हुन्छन् । तर पार्टीको आन्तरिक विषयहरु सञ्चारमाध्यममा लैजाने, शुभेच्छुकहरुमा भ्रम पार्ने जस्ता कामहरु गर्न अनुपयुक्त हुन्छ । सधैँझैँ हामी यो समस्यालाई समाधान गरेर लान्छौँ ।’

उनले असन्तुष्ट पक्षहरुले अध्यक्षले विधान विपरीत काम गरेको भन्ने आरोपको खण्डन पनि गरेका छन् । पार्टीको विधानअनुसार नै जिम्मेवारीहरु हेरफेर गरिएको उनको दाबी छ । विधानले अध्यक्षलाई समितिहरु गठन गर्ने, जिम्मेवारीहरु बाँडफाँड गर्ने, पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारीहरु तोक्ने, परिचालित गर्ने लगायतका सुविधा दिएको उनको भनाइ छ ।

उनले भने, ‘यसमा मैले नयाँ काम गरेको होइन, त्यो । म अध्यक्ष भइकनको पहिलो काम पनि होइन, त्यो । नियमित रुपमा विभागहरुको हेरफेर गर्ने, जिम्मेवारी हेरफेर गर्ने कामहरु पहिले पनि भइराखेका हुन्थे । त्यही क्रममा यस पटक पनि भएको थियो । यो पटक विभागहरुको हेरफेर गर्दाखेरि एउटा व्यक्ति जसले चाहिँ अहिले कम्प्लेन गर्नुभयो, चित्त बुझाउनुभएन । उहाँको मात्रै होइन धेरै मान्छेहरुको हेरफेर गरिएको थियो जिम्मेवारीबाट । पार्टीको विधानले नै अध्यक्षलाई दिएको सुविधा हो, विभिन्न समितिहरु गठन गर्ने, जिम्मेवारीहरु बाँडफाँड गर्ने, पदाधिकारीहरुलाई, सदस्यहरुलाई जिम्मेवारीहरु तोक्ने, परिचालित गर्ने अध्यक्षको जिम्मेवारी हो । त्योअनुसार नै गरेको कामहरु हो ।’

नेपाल जस्तो भूराजनीतिक परिस्थिति भएको देशको लागि अभिभावकीय संस्थाको रुपमा राजसंस्था उपयुक्त हुने बताए । राप्रपाले निरन्तर रुपमा राजसंस्थाको लागि आवाज उठाइराखेको भन्दै उनले पछिल्लो दिनमा राजसंस्थाको माहोल पनि बन्दै गइरहेको बताए । पछिल्लो समयमा राजसंस्थाको पक्षमा बनिरहेको परिवेश, जनमत सबैको पृष्ठभूमिलाई आधार मान्दा राजसंस्था पुनःस्थापना निकटमा पुगेको उनको दाबी छ ।

उनले भने, ‘नेपाल जस्तो भूराजनीतिक परिस्थिति भएको देशको लागि अभिभावकीय संस्थाको रुपमा राजसंस्था उपयुक्त हुन्छ भनेर हामीले निरन्तर रुपमा आवाज उठाइराखेका छौँ । अहिले पछिल्लो दिनमा जुन परिवेश बनिरहेको बन्दै गएको छ, जनमत बन्दै गएको छ । त्यो सबै पृष्ठभूमिमा अब राजसंस्था पुनःस्थापना चाहिँ निकटमा पुगेको छ भन्ने मलाई लाग्छ ।’

उनले राजसंस्था पुनःस्थापना पक्षधरहरु पनि एकजुट हुँदै गएको बताए । गत जेठ १५ गते राजसंस्था पक्षधरहरुले गरेको कार्यक्रमले पनि राजसंस्था चाहिन्छ भन्ने सबै शक्तिहरु एक ठाउँ उभिएको सङ्केत गरेको उनको दाबी छ । उक्त कार्यक्रमले कुनै ठोस परिणाम नदिए पनि एउटा सकारात्मक सन्देश प्रवाह गर्न आफूहरु सफल भएको उनको भनाइ छ ।

उनले भने, ‘राजसंस्था पुनःस्थापना पक्षधर विभिन्न पार्टी संघसंस्थाहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी मूल शक्ति हो भन्ने कुरामा कुनै विवाद छैन । राप्रपाले जहिले पनि यो समान दृष्टिकोण राख्ने सबै शक्तिहरु एक ठाउँ भएर नै अगाडि जानुपर्दछ भन्ने आफ्नो धारणा राख्दै आएको छ । विगतको तुलनामा हामीले जेठ १५ गते जुन कार्यक्रम आयोजना गर्‍यौँ । त्यसले परिणाम त दिएन र कुनै एकै दिनको कुनै कार्यक्रमले सबै परिणाम ल्याउन भन्ने कुरा पनि हुँदैन तर त्यसबेला एउटा सकारात्मक सन्देश हामी प्रवाह गर्न सफल भयौँ । एउटा राम्रो सिलसिलाको प्रारम्भ भयो । राजसंस्था चाहिन्छ भन्ने सबै शक्तिहरु एक ठाउँ उभिएर चाहिँ अगाडि बढ्यौँ । यसमा भएका कमीकमजोरीहरुलाई सच्याएर आगामी दिनमा अगाडि जान सकिन्छ भन्ने प्रष्ट भएको छ ।’

राजसंस्था पक्षधरहरुबीच देखिएका कमीकमजोरीहरुलाई सच्याएर आगामी दिनमा अगाडि बढ्न सकिने उनले बताए । उनले पार्टीबाट कसैलाई निष्कासन नगरिएको पनि बताए । अध्यक्षले मनोनित गर्न पाउने पदहरुलाई परिवर्तन गर्ने पुरानै परम्परा रहेको पनि उनको दाबी छ ।

उनले भने, ‘अध्यक्षले मनोनित गर्न पाउने जति पदहरु छन्, त्यो हामीले परम्परागत रुपमा नै परिवर्तन गर्दै आइराखेको हो । विभागको प्रमुख तोक्ने, विभागको सदस्य सचिव तोक्ने, सदस्य तोक्ने भनेको अध्यक्षले नै हाम्रो पार्टीमा चाहिँ व्यवस्था छ । त्यही हामीले पहिलेदेखि गर्दै आएका छौँ । कसैलाई पार्टीबाट निकालिएको होइन, कारबाही गरिएको होइन ।’

उनले निर्वाचन आयोगमा उजुरी दिएकाहरुप्रति लक्षित गर्दै पार्टीभित्रको आन्तरिक विवाद हेर्ने निर्वाचन आयोगको कार्यक्षेत्र नै नभएको बताए । उनले भने, ‘निर्वाचन आयोगको कार्यक्षेत्र नै होइन, राप्रपाको प्रवक्ता को हुनुपर्छ, विभागको सदस्यसचिव को हुनुपर्छ, विभाग प्रमुख को हुनुपर्छ भन्ने कुरा निर्वाचन आयोगको काम नै होइन ।’

राप्रपाको प्रवक्ता, विभागको सदस्यसचिव, विभाग प्रमुख तोक्ने काम निर्वाचन आयोगको नभई अध्यक्षको भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − five =