सप्तकोसीमा पानीको बहाव खतराको तहमा, धनुषा र सर्लाहीमा भारी वर्षाले जोखिम बढायो

काठमाडौं । लगातारको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव खतराको सङ्केत पार गरेको छ भने तराईका अन्य जिल्लामा पनि भारी वर्षासँगै बाढीको जोखिम बढेको छ । शनिबार रातिदेखि सप्तकोसीको जलस्तर बढेपछि कोसी ब्यारेजमा खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ बजे गरिएको मापनमा कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको थियो । नदीको बहाव प्रतिसेकेण्ड एक लाख ५० हजार क्यूसेक नाघेपछि खतरा मानिन्छ र रातो बत्ती बालिन्छ । बहाव बढेपछि ब्यारेजका ५६ मध्ये २८ ढोका खोलिएका छन् ।
प्रहरी उपरीक्षक थापाले हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको र अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागले आइतबार बिहान ७:२० बजे सूचना जारी गरी धनुषा र सर्लाहीका केही स्थानमा भारी वर्षा भइरहेकोले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार धनुषाको हर्दिनाथ र तुलसी तथा सर्लाहीको परवानीपुर क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको छ ।
उक्त क्षेत्रमा बनेको मौसमी प्रणाली दक्षिण-पश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र र आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन र सम्भावित जोखिमबाट बच्न पूर्वतयारीमा रहन विभागले सुझाव दिएको छ ।








