मनसुन सक्रिय : आइतबार देशभर झरीको सम्भावना

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभरको मौसममा बदली आएको छ । हाल बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा भइरहेको छ भने मौसम पूर्वानुमान महाशाखाले आइतबार पनि देशका अधिकांश भू-भागमा झरी पर्ने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा आफ्नो औसत स्थानमा आइपुगेकाले देशभर मनसुनी प्रभाव बढेको हो । शनिबार बिहानैदेखि बागमती र गण्डकी प्रदेश लगायत देशका अधिकांश पहाडी भू-भागमा बादल लागेको छ । हाल बागमतीका केही तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यम खालको वर्षा भइरहेको महाशाखाले जनाएको छ । त्यसैगरी, मधेस र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि पानी परेको छ ।

महाशाखाले आइतबारका लागि गरेको पूर्वानुमान अनुसार देशभरको मौसम सामान्यतया बदली रहनेछ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । यसैगरी, मधेस प्रदेश र देशका अन्य पहाडी तथा तराईका भू-भागका थोरै स्थानमा पनि पानी पर्ने सम्भावना रहेको छ ।

मनसुनी वर्षाका कारण देशका केही नदीहरूमा पानीको बहाव बढ्न सक्ने तथा पहाडी क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउनु पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 7 =