धनगढीस्थित कारागार विवाद : घाइते एक जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै

काठमाडौँ । कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितिलाई लिएर गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका छन् ।
शनिवार सिंहदरबारमा सुरक्षा प्रमुखहरूसँग गृहमन्त्री लेखकले छलफल गरेका हुन् ।
कैदीबन्दीबिच झडपपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न मन्त्री लेखकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूलाई बोलाइ छलफल गरे । छलफलमा उक्त घटनालाई सरकारले गम्भीरताका साथ लिएको र परिस्थिति सहज बनाउन सुक्षम रूपले हेरेको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले बताए ।
उनकाअनुसार गम्भीर घाइते भएका एक बिरामीलाई थप उपचारका लागि काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको र हेलिकप्टर उडिसकेको छ । अन्य घाइतेको उपचारको उचित व्यवस्था मिलाइएको बताए । उनले कारागारको पूर्ण सुरक्षा गर्ने र थप अप्रिय घटना हुन नदिने व्यवस्था मिलाइएको बताए ।
उनले भने ‘कैलालीको कारागारमा भएको घटनाका सन्दर्भमा गृहमन्त्रीज्यूको नेतृत्वमा तीन वटै सुरक्षा निकायका प्रमुख, गृह सचिवज्यू सबै बसेर छलफल गरेका छौँ । यस घटनालाई गृह मन्त्रालय र समग्र सुरक्षा निकायले परिस्थिति सहज बनाउन गम्भीरतापूर्वक सुक्ष्म रूपले हेरेको अवस्था छ । गम्भीर घाइते भएका एक बिरामीलाई थप उपचारका लागि काठमाडौँ ल्याउने व्यवस्था मिलाएका छौँ । हेलिकप्टर उडिसकेको छ । अन्य घाइतेको उपचारको उचित व्यवस्था मिलाइएको छ । कारागारको पूर्ण सुरक्षा गर्ने र थप अप्रिय घटना हुन नदिने व्यवस्था मिलाइएको छ ।’
कारागारमा कैदीबन्दीबीच झडप भएको थियो । कारागारभित्र ब्लक ‘ए’ मा बस्ने र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच झडप भएको हो ।








