उत्कर्षमा नेकपा एसको कलह

‘ओलीको सेवा गर्न जानुस्’ भन्ने नेपाललाई खनालको जवाफ- ‘पहिले ऐनामा आफ्नो अनुहार हेर्नुस्’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । पछिल्लो समय सम्मानित नेता झलनाथ खनाल र अध्यक्ष माधवकुमार नेपालबीच व्यक्तिगत तहमा सार्वजनिक आरोप-प्रत्यारोप चलेको हाे । 

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले सम्मानित नेता खनालप्रति कडा टिप्पणी गर्दै ‘एमालेमै फर्केर ओलीको सेवा गरे हुन्छ’ भनेपछि विवादले नयाँ मोड लिएको हो । यसको प्रत्युत्तरमा खनालले अध्यक्ष नेपाललाई ‘पहिले आफ्नो अनुहार ऐनामा हेर्न’ र आफैँ एमाले फर्किनेबारे सोच्न व्यंग्यात्मक आग्रह गरे ।

विवादको मूल जड नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको भन्ने खनालको टिप्पणीबाट सुरु भएको थियाे । खनालले एमालेबाट अलग भएको चार वर्ष बितिसक्दा पनि पार्टीले आफ्नो औचित्य स्थापित गर्न नसकेको र वैचारिक रूपमा स्पष्ट हुन नसकेको आरोप लगाएका छन् ।

खनालको मुख्य असन्तुष्टि अध्यक्ष नेपालले ‘जनताको बहुदलीय जनवाद’ (जबज) लाई त्याग्न नसकेकोमा केन्द्रित छ । ‘जबज’ को वैचारिक केन्द्र एमाले नै भएकाले, जबजलाई नै बोकेर हिँड्ने हो भने एकीकृत समाजवादीको छुट्टै अस्तित्व आवश्यक नहुने उनको तर्क छ । उनी पार्टी ‘वैज्ञानिक समाजवाद’ को लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिन्छन् । यसअघि पनि खनालले एक टेलिभिजन अन्तर्वार्तामा विद्रोहको औचित्यमाथि प्रश्न उठाएपछि अध्यक्ष नेपाल आक्रोशित बनेका थिए । 

आरोप-प्रत्यारोपको शृङ्खला
दुई शीर्ष नेताबीचको वाकयुद्ध व्यक्तिगत स्तरमा समेत पुगेको छ। अध्यक्ष नेपालले खनाललाई पार्टी छोड्न सुझाएपछि खनालले पत्रकार सम्मेलन नै गरेर त्यसको जवाफ दिएका थिए ।
खनालले नेपालको टिप्पणीलाई ‘तल्लो स्तरको चिन्तन’ र ‘संकीर्ण सोच’ को संज्ञा दिँदै पार्टी कसैको आदेशमा नचल्ने बताएका छन् । उनले पार्टीभित्र देखिएका वैचारिक र सैद्धान्तिक मतभेदहरूलाई लुकाउनुको सट्टा केन्द्रीय कमिटीको लामो बैठक बोलाएर छलफल गर्न माग गरेका छन् । खनालले महाधिवेशन भएको एक वर्ष बितिसक्दा पनि पार्टीको वैचारिक कार्यदिशा र कार्यक्रम सार्वजनिक नभएकोमा पनि असन्तुष्टि व्यक्त गरे ।

नेताहरूबीचको शक्ति संघर्ष र वैचारिक मतभेदले गर्दा पार्टीका तल्ला तहका कार्यकर्तामा समेत अन्योल छाएको छ । कतिपय नेताहरूले पार्टीको भविष्यमाथि नै चिन्ता व्यक्त गर्न थालेका छन् । विवाद समाधानका लागि खनालले केन्द्रीय कमिटीको बैठक बोलाएर गम्भीर वैचारिक बहसमा जानुपर्ने सुझाव दिएका छन् । उनले ‘जबज’ र ‘वैज्ञानिक समाजवाद’ जस्ता विषयमा पार्टीभित्र स्पष्टता आवश्यक रहेको र यस्तो छलफलले नै कार्यकर्तालाई प्रशिक्षित गर्ने बताए । अब पार्टी नेतृत्वले एकतालाई कसरी जोगाउँछ भन्ने कुराले एकीकृत समाजवादीको भविष्य निर्धारण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − two =