गुल्मीको मुसिकोटकी उपप्रमुख गंगा श्रेष्ठ एमालेबाट निलम्बित

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गुल्मीको मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टीको जिल्ला कमिटी, गुल्मीले श्रेष्ठलाई अनुशासनको कारबाही स्वरूप एक वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।

एमाले जिल्ला कमिटीका अध्यक्ष बालसिंह काउछाद्वारा हस्ताक्षरित पत्रमा श्रेष्ठलाई एक वर्षसम्म पार्टी सदस्यको हैसियतमा कुनै पनि काम-कारबाही नगर्न निर्देशन दिइएको छ । यो कारबाहीसँगै श्रेष्ठले पार्टीभित्रका सबै जिम्मेवारीबाट अलग रहनुपर्ने भएको छ । पार्टीका अनुसार, श्रेष्ठलाई कारबाही गर्नुअघि विभिन्न चरणमा सचेत गराउने प्रयास गरिएको थियो । सुरुमा एमाले मुसिकोट नगर कमिटीको बैठकले उनलाई सचेत गराउने निर्णय गरेको थियो । तर, नगर कमिटीको निर्णयपछि पनि श्रेष्ठ गम्भीर नभएको भन्दै जिल्ला कमिटीमा कारबाहीका लागि सिफारिस गरिएको थियो । सोही सिफारिसका आधारमा जिल्ला कमिटीले गत असार २९ गते श्रेष्ठसँग स्पष्टीकरण माग गरेको थियो ।

श्रेष्ठले असार ३२ गते लिखित जवाफ पेस गरेकी थिइन् । जिल्ला पदाधिकारी बैठकले श्रेष्ठको जवाफ चित्तबुझ्दो नभएको र पार्टीको नीतिविपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै कारबाहीको निर्णय लिएको हो ।

यता, उपप्रमुख श्रेष्ठले भने आफूमाथि गरिएको कारबाही अन्यायपूर्ण भएको बताएकी छन् । उनले आफूलाई कारबाहीको पत्र अझै प्राप्त नभएको र आफ्नो अधिकारको कुरा उठाउँदा कारबाहीको भागीदार बन्नुपरेको प्रतिक्रिया दिएकी छन् । श्रेष्ठले विशेषगरी मुसिकोट नगरपालिकाको बजेट निर्माण प्रक्रियामा आफ्नो असहमति रहेको बताएकी छन् । मुसिकोट नगरपालिकामा प्रमुख पनि एमालेबाटै निर्वाचित भएका हुन् ।

यद्यपि, बजेटका विषयमा प्रमुख र उपप्रमुखबीच सहमति जुट्न सकेको थिएन । श्रेष्ठ २०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उपप्रमुखमा विजयी भएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =