किसानका लागि बनाएको योजना सरकारले संसदमा जानकारी गराओस् : सांसद शर्मा

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले किसानका लागि सरकारले बनाएको योजना सांसदलाई जानकारी गराउन माग गरेका छन् ।
राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले किसान अहिले समस्यामा रहेको र उनीहरुले मल, बीउ, पानी नपाएको भन्दै सुख्खा ग्रस्त क्षेत्रका किसानका लागि सरकारको योजना के छ ? भन्दै प्रश्न गरे । उनले आरोप लागेको सबै मन्त्रीहरूमाथि छानबिन गर्न पनि माग गरे ।
सांसद शर्माले भने, ‘आरोपी सबै मन्त्रीहरूमाथि छानबिनको माग गर्दछु । यसरी सार्वजनिक पद धारण गरेका सबै उच्चपदस्थ नेताहरूको सम्पत्ति छानबिन गर्न सक्ने अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गरी सुशासनमाथि जनताको विश्वास दिलाउने काम गरोस् । किसान समस्यामा परेका छन् । मल बीउ छैन । ५ सय ट्युबेल बाँडिएको भन्ने छ । सुख्खा परेको छ । बाली लागेको छैन, खानामा समस्या देखिन्छ । यसको निमित्त सरकारले के सोचिरहेको सदनमा आएर जवाफ दिओस् ।’
उनले सार्वजनिक पद धारण गरेका सबै उच्चपदस्थ नेताहरूको सम्पत्ति छानबिन गर्न सक्ने अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्न माग गरे ।








