भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था छैन : सांसद साउद

काठमाडौं । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले भारतको उर्जा मागलाई ध्यानमा राखी नेपालले विद्युत निर्यात रणनीति बनाउनुपर्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नीति संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्ने अवस्था नरहेको उनको भनाइ छ ।
उनले भौगोलिक चुनौतीका कारण भारतलाई बाइपास गरेर तेस्रो मुलुकमा विद्युत निर्यात गर्न सम्भव नभएको प्रष्ट पारे ।
उनले नेपालको जलस्रोतको अधिकतम मूल्य प्राप्तिका लागि अनुसन्धान र विश्लेषण अपरिहार्य भएको पनि बताए ।
नेपालको आफ्नै नीति र भौगोलिक समस्याको कारण विगतमा जलस्रोतको न्युनतम उपयोग गर्न पनि नसकेको टिप्पणी गरे ।
सांसद साउदले निजी क्षेत्रसँग सहकार्य गरेर जलस्रोतको अधिकतम उपयोग गरेर मुलुकलाई समृद्ध बनाउने दिशामा अघि बढ्न जरुरी रहेको बताए ।








