राजनीतिक नेतृत्वले सचिवहरुलाई पंगु बनायो : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले पछिल्लो समय मुलुकमा राजनीतिक नेतृत्वले नै कर्मचारीलाई पंगु बनाएको बताएका छन् ।
शुक्रवार सार्वजनिक लेखा समितिको बैठकमा कर्मचारीलाई राजनीतिक नेतृत्वले बिगारेको बताउएका हुन् ।
उनकाअनुसार अहिले सचिवहरुले मन्त्रीको भनेको बाहेक अरु केही काम नै गर्दैनन् भने मन्त्रीको क्वाटर क्वाटरमा सचिवहरु धाउने प्रवृत्ति मौलाएको छ ।
सांसद सिंहले देश र व्यवस्था बचाउने जिम्मा कर्मचारीतन्त्रको आएका कारण मन्त्रीको ‘गोटी’ नबन्न आग्रह गरे । ‘सचिवहरुले आत्मसम्मान गुमाउनु भएको छ । राजनीति नेतृत्वले नै सचिवलाई पंगु बनायो । मलाइ थाहा छ भ्रष्टाचारका काण्डमा साना कर्मचारी फसिरहेका छन् । तर पनि देश र व्यवस्था बचाउने जिम्मा यहाँहरुको काँधमा आएको छ, देश बचाइदिनुस्, व्यवस्था बचाइदिनुस्’ उनले भने ।
सांसद सिंहकाअनुसार अहिले मुलुकमा मिलेमत्तोमा भ्रष्टाचार बढेको छ । जसकारण प्रत्येक वर्ष बेरुजु मौलाएको छ । नेपालमा जति लुट अहिले दुनियाँमा अन्त्य कही नरहेको समेत उनले ठोकुवा गरे ।
सांसद सिंहकाअनुसार प्रदेश भ्रष्टाचारका अखडा बनेका छन् । साधारण खर्चमा एशिया टपमा नेपाल पर्न थालेको छ । मुलुकमा जति भ्रष्टाचार बेथिति बढ्छ, झनै देश छाड्नेहरु बढ्ने उनको भनाइ रहेको छ ।








