सांसदहरुको प्रश्नः इमान्दारिताका साथ भन्नुस्, थपिएको समयमै संसद भवनको काम सकिन्छ ?

काठमाडौं । नयाँ संसद भवनको काम समयमै सम्पन्न हुन नसकेको बारेमा सांसदहरुले आपत्ति जनाएका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो आपत्ति जनाएका हुन् । थपिएको म्यादमा पनि जुलाई महिनामा लक्ष्यअनुसार काम हुन नसकेको सांसदहरुको गुनासो छ ।
समितिको बैठकमा बोल्दै नेपाली काँग्रेस सांसद प्रतिमा गौतमले देशभरको पूर्वाधारको अवस्था कस्तो छ ? भन्नेकुरा बन्दै गरेको संसद भवनको उदाहरणबाट स्पष्ट हुने बताइन् ।
उनले लिएको लक्ष्यअनुसार थपिएको म्यादमा पनि कार्यप्रगति हुन नसकेको बताए । म्याद थप गर्दा विलम्व शुल्क किन लागेन भन्दै प्रश्न गरिन् ।
उनले भनिन्– ‘हाम्रो पूर्वाधारको अवस्था कस्तो छ भन्दा संसद भवन हेर्नुस् भन्ने गर्दछन् । यसमा हामी गम्भीर बन्नुपर्छ । वित्तीय प्रगतिको विवरण पेश गर्दा ०.८९ प्रतिशतले हामीले यो समयसीमाभित्र सक्छाँै भन्नेमा संशय त स्पष्ट देखियो । हामीलाई संशय नहुने गरी बताउनुपर्छ । कागजमा दिएको जनशक्ति परिचालन, प्रगति विवरणहरु के छ ? हाम्ी पटक पटक निरीक्षण गर्न जाँदा त्यहाँ देखिएको कामदारहरुको संख्या असाध्यै कम छ । म्याद थपमा किन विलम्व शुल्क लगाएनौँ ?’
समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद प्रभु हजाराले पटक पटक म्याद थप गर्ने तर काम पूरा नहुने स्थितिको अन्त्य हुनुपर्ने बताए ।
उनले नयाँ संसद भवनको म्याद पटक पटक थप गरेपनि अझै पूरा हुन नसक्नुले देशभरको भौतिक पूर्वाधार निर्माणको अवस्थालाय गिज्याउने जिकिर गरे । अबको म्यादमा सकिने गरी काम हुनुपर्ने बताए ।
नेकपा (एकीकृत समाजवादी) की सांसद मदनकुमार साहले साउन १८ गते स्थलगत अनुगमन गर्दा २ वर्षमा पनि काम हुन नसक्ने स्थिति रहेको बताए ।
उनले यही तरिकाले काम हुने हो भने दुई वर्षमा पनि काम सकिने स्थिति नरहेको बताए । जुलाई महिनामा ३.३ प्रतिशत काम हुनुपर्नेमा जम्मा १ प्रतिशत पनि नहुनु दुःखद् पक्ष भएको बताए ।
नेकपा एमाले सांसद सरस्वती सुब्बाले संसद भवन अनुगमनका क्रममा कामदारहरुको संख्या कम रहेको पाएको बताइन् । हिउँदे अधिवेशन साँच्चिकै त्यहाँबाट शुरु गर्नसक्छौँ त ? उनको प्रश्न छ । ‘हामीले अनुगमन गर्दा खाजा खाने समयमा बोलाउनु भयो । ताकि त्यहाँ धेरै ठाउँ घुम्दा वायरिङ गर्ने एक जना मात्रै थिए । कामदारहरुको संख्या एकजना मात्रै भेटेपछि के काम गरोस् । अन्तिम पटक म्याद थपिएको बारेमा चर्चा गरिरहेका छौँ । हिउँदे अधिवेशन साँच्चिकै त्यहाँबाट शुरु गर्नसक्छौँ त ? इमान्दारिताका साथ भनौँ’ उनले भनिन् ।
सांसदहरुले म्याद पनि थपिएको र बजेट पनि भएको अवस्थामा निर्माण व्यवसायीहरुले काम नसक्नु दुःखद् भएको बताए ।
उनीहरुले काम गर्न कति जनशक्ति चाहिन्छ ? भन्नेकुराको आँकलन पहिला नै गर्नुपर्ने उनीहरुको भनाइ छ । काम समयमा नसक्ने र म्याद थप गर्दा समेत ढिलासुस्ती गर्ने कुरा सह्य नहुने बताए ।








