राप्रपाभित्रको लडाईं

एकलौटी निर्णयले पार्टीमा समस्या ल्यायो, हामी विभाजनको पक्षमा छैनौँ : महामन्त्री जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर जबराले पार्टीभित्र आफूहरूकोे फरक मत पार्टी विभाजनका लागि नभएको बताएका छन् । उनले पार्टी विभाजन गर्ने मनस्थितिले नभई पार्टीको विधानविपरीत भएको कार्यलाई सच्याउन आफूहरू लागिपरेको बताए । उनले यसलाई पार्टी विभाजनको रूपमा नहेर्न पनि आग्रह गरे । पार्टी विभाजन गर्ने आफूहरूको कुनै सोच नभएको उनले बताए । जीवन्त पार्टीभित्र केही मतभेद हुने भन्दै उनले त्यहीअनुसार केही मतभेदहरू देखिएको बताए । उनले मतभेदहरूलाई आन्तरिक रूपमा बसेर सल्टाउन नसक्दा आफूहरू निर्वाचन आयोगको ढोकामा पुगेको उनको भनाइ छ ।

उनले भने, ‘हामी विभाजनको संघारमा छैनौँ । पार्टीभित्र केही मतभेदहरू छन् । एउटा जीवन्त पार्टीभित्र मतभेदहरू हुन्छन् । त्यसलाई बसेर सल्टाउन पनि सकिन्छ । र बसेर सल्टाउन नसकेपछि निर्वाचन आयोगमा गएको हो । पार्टीलाई विभाजन गर्ने हाम्रो कुनै पनि विचार छैन । एकलौटी रूपले पार्टी चल्नुभएन, निर्णय हुनुभएन भन्ने हाम्रो धारणा हो । यो विभाजन भएको होइन, विधानको विपरीत जुन कार्यहरू भए, विधानको उल्लङ्घन भएकोलाई हामीले सच्याउन खोजेको हो । यसमा कुनै प्रकारको पार्टी विभाजन गर्ने मनस्थिति यो भएको होइन । हामी विभाजनतिर पार्टीलाई लग्ने कुनै पनि हाम्रो सोच छैन ।’

महामन्त्री जबराले पार्टी नेतृत्वले पार्टीको विधानविपरीत गरेका कारबाही, पदमुक्तिहरूलाई पुनर्बहाली गर्ने दाबी गरे । पार्टीको विधानविपरीत सामान्य स्पष्टीकरणसमेतको मौका नदिईकन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही नेताहरूलाई कारबाही गरेको उनको भनाइ छ । एकलौटी ढंगबाट गरिएको कारबाहीको विरुद्धमा आफूहरू निर्वाचन आयोग गएको उनले बताए । आयोगले पार्टीलाई कारबाहीका निर्णयका सम्बन्धमा सोधेको र पार्टीले पनि आयोगलाई जवाफ पठाइसकेको उनले जानकारी दिए । उनले आयोगले के निर्णय गर्छ भन्ने पर्खाइमा आफूहरू रहेको बताए ।

पार्टी अध्यक्ष लिङ्देनले पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी, अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी, पार्टी प्रवक्ता सगुनसुन्दर लावतीलाई पदबाट बर्खास्त गरेका थिए । महामन्त्री जबरासमेत संगठन विभाग प्रमुखबाट हटाइएका थिए । उक्त कारबाही तथा पदमुक्ति पार्टीको विधानविपरीत भएको भन्दै उनीहरूले निर्वाचन आयोगमा निवेदन दिएका छन् । विधानमा कारबाही गर्ने, पदमुक्त गर्ने विषय स्पष्ट रूपमा नै भए पनि त्यसलाई मिचेर, उल्लङ्घन गरेर कारबाही तथा पदमुक्तिहरू भएको महामन्त्री राणाको आरोप छ ।

उनले भने, ‘केही साथीहरू कारबाहीमा परेका छन् । त्यसको विरोधमा यो विधानविपरीत भयो, उचित कारबाही भएन । साथीहरूलाई सामान्य स्पष्टीकरण पनि नमागीकन केही कारबाहीहरू र पदमुक्ति भएका छन् । त्यसको विरुद्धमा हामी निर्वाचन आयोगमा गएका छौँ । निर्वाचन आयोगले पनि पार्टीलाई सोधनी पठाएको छ र पार्टीले पनि केही जवाफ दिएको छ । निर्वाचन आयोगले के कारबाही गर्छ भन्ने पर्खाइमा छौँ । निर्वाचन आयोगले किन विधानविपरीत गर्नुभयो, यस्तो निवेदन परेको छ, यो विषयमा तपाईंहरूको के भन्नुछ भनेपछि पार्टीले केही जवाफ दिएको छ । जहाँसम्म मैले थाहा पाएको छु । अब निर्वाचन आयोगले त्यो जवाफमाथि के कारबाही गर्छ, गर्दैन भन्ने पर्खाइमा छौँ । विधानमा कारबाही गर्ने, पदमुक्त गर्ने कुराहरू, विषय स्पष्ट नै छ तर त्यसलाई सबै मिचेर, विधानलाई उल्लङ्घन गरेर भएका कारबाहीहरू र पदमुक्तिहरूलाई निर्वाचन आयोगले पुनर्बहाली गर्छ भन्ने मैले ठानेको छु । अब त्यो निर्वाचन आयोगमाथि निर्भर छ ।’

महामन्त्री जबराले पार्टीमा सुरुवातबाटै स–साना कुराहरूमा पनि कारबाही हुँदै आएको बताए । यसलाई पार्टीभित्रै समाधान गर्ने प्रयास गरे पनि पछिल्लो समय नसकिएको उनको भनाइ छ । उनले उपचारको क्रममा आफू मुम्बई गएको बेला थाहै नदिई पदमुक्त गरिदिएको बताए । त्यस्तो संवेदनशील अवस्थामा आफूलाई पदमुक्त गरिएको उनको गुनासो छ ।

उनले भने, ‘सुरुबाटै स–साना कुराहरूमा कारबाहीहरू हुँदै आएको छ । हामी पार्टीभित्रै यसलाई समाधान गर्ने प्रयास गरिरहेका थियौँ । तर यता विगतका दिनमा म पनि उपचारको क्रममा मुम्बई जाने क्रममा मेरो पनि पद हटाइयो । कुनै जानकारी पनि मलाई नदिएर, त्यस्तो संवेदनशील बेलामा । अनि केही साथीहरूलाई कारबाही हुँदै आएको थियो । अन्तिममा यो स्थितिमा सगुनसुन्दर लावती, मुकुन्दश्याम गिरी र नवराज सुवेदी, यी तीन जनालाई जिम्मेवारीबाट हटाइयो । कसैलाई पदमुक्त पनि गरियो । यस क्रममा अब अति भयो, पार्टीभित्र मिल्न नसकिने स्थिति भएपछि हामी निर्वाचन आयोगको ढोकामा गएका हौँ ।’

उनले आफूहरूमाथि भएको कारबाही कतिपयले चैत १५ गते तीनकुनेमा भएको घटनालाई जोडेर लिने गरेको भए पनि त्यसमा कुनै सत्यता नभएको बताए । नजिकिँदै गरेको महाधिवेशन, पार्टी नेतृत्वको एकल निर्णयको विरोध गरेको लगायतका कारण आफूहरू कारबाहीमा परेको उनको भनाइ छ ।

उनले भने, ‘गत चैत १५ गतेको तीनकुने घटनाले पार्टीमा कारबाही गर्नुपर्छ भन्नेमा कुनै सत्यता छैन । अब पछिल्लो घटनाक्रम त अब महाधिवेशन आउन लागेको होला । अब त्यो एकल निर्णयलाई हामीले विरोध गरेका छौँ । अब सबै त्यो चित्त नबुझेर कारबाही भएको हो । तर आन्दोलनको कुरा लिएर यो कारबाहीहरू भएको होइन ।’

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्ने पार्टी भएकोले यहाँ भएका निर्णयहरू सामूहिक हुनुपर्ने बताए । पार्टीमा फरक मत राख्नेहरूको पनि सुनुवाइ हुनुपर्ने उनको भनाइ छ । सबै विषयमा सर्वसम्मत गर्ने प्रयास गर्नुपर्ने र सर्वसम्मत हुन नसकेका विषयमा नोट अफ डिसेन्ट लेख्न पाउनुपर्ने उनले बताए । साथै ठूला निर्णयहरू गर्नुभन्दा पहिला सबैसँग सरसल्लाह गर्नुपर्ने उनको भनाइ छ । एकलौटी ढंगले निर्णयहरू गर्दा पार्टीमा मतभिन्नता हुने र यसले पार्टीमा समस्या ल्याउने उनले बताए ।

उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी एउटा प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्ने पार्टी हो । यहाँ भएका निर्णयहरू सामूहिक निर्णय हुनुपर्छ, छलफल हुनुपर्छ । यसमा फरक मत राख्नेहरूलाई पनि सुनुवाइ हुनुपर्छ । हरेक कुरामा मत मतान्तर नहोला, सर्वसहमतिबाट गराउन सक्ने प्रयास गर्नुपर्छ । तर सर्वसम्मत हुन सकेन भने मत मतान्तर गरेर नोट अफ डिसेन्ट लेख्न पाउनुपर्छ । केही ठूला निर्णय गर्नुभन्दा पहिले साथीहरूको माझमा लैजानुपर्छ । कसैको पदमुक्त गर्दाखेरि, जिम्मेवारी हेरफेर गर्नेभन्दा पहिले सरसल्लाह भएर अगाडि बढ्दाखेरि हामीलाई कुनै आपत्ति छैन । तर सरसल्लाह नभएर एकलौटी ढंगले निर्णयहरू हुँदाखेरि पार्टीमा मतभिन्नता हुन्छ । यसले पार्टीमा समस्या ल्याउँछ । यो कुराहरूलाई यसरी नजाऊँ भनेर धेरै प्रयास हामीले गर्‍यौँ । तर झन्‌झन् एकल निर्णयहरू अगाडि आइसकेपछि हामी बाध्य भएर निर्वाचन आयोगको ढोका ढकढक्याउन जानुपरेको हो ।’

महामन्त्री राणाले नवराज सुवेदीले पार्टीबाट राजीनामा नदिएको पनि बताए । कुनै एक परिप्रेक्ष्यमा पार्टी छाडें भन्नुपर्ने स्थिति आएपछि सुवेदीले पार्टी छाडें भने पनि राजीनामा नदिएको महामन्त्री राणाको भनाइ छ । राजीनामा दिने कार्य लिखित हुने भन्दै उनले सुवेदीको लिखित राजीनामा नआएको बताए । डा. प्रकाशचन्द्र लोहनीको घरमा अध्यक्ष लिङ्देन र सुवेदीबीच एक प्रकारको सम्झौता भएको पनि उनले स्मरण गरे । एउटा वरिष्ठ नेतालाई पार्टीबाट, पदबाट त्यसरी हटाउनु उचित नहुने उनले बताए ।

उनले भने, ‘नवराज सुवेदीले कुनै परिप्रेक्ष्यमा मैले पार्टी छाडें भन्नुपर्ने स्थिति थियो । सबैको चित्त बुझाउनका लागि, तर राजीनामा दिने कार्य लिखित हुन्छ । उहाँहरूको सहमति भइसकेको थियो, नवराजजीले नछोड्ने भनेर, त्यसमा अध्यक्षज्यू आफैँ पनि हुनुहुन्थ्यो, त्यो सहमतिमा । डा. लोहनीको घरमा उहाँहरूको सहमति भएको थियो । पछि एक्कासि उहाँले नवराजजीलाई हटाएर अर्को व्यक्तिलाई ल्याउनुभयो । त्यस क्रममा पनि धेरै जनताले चाँहि के बुझे भने नवराजजीले राजीनामा दिनुभयो, सार्वजनिक रूपले, तर एउटा अनौठो परिस्थितिमा उहाँले त्यो भन्नुभएको हो । तर राजीनामा भनेको लिखित हुनुपर्छ । त्यो कुराचाहिँ जनताहरूले बुझेका छैनन् । तर जे भए पनि एउटा सिनियर नेतालाई पार्टीबाट, पदबाट त्यसरी हटाउनु उचित हुँदैनथ्यो ।’

महामन्त्री राणाले विधानविपरीतका कारबाही, निर्णयहरूलाई निर्वाचन आयोगले रोक्नेमा आफू विश्वस्त रहेको बताए । एकलौटी रूपले पार्टी चल्नुभएन, निर्णय हुनुभएन भन्ने आफूहरूको धारणा रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − thirteen =