उत्तराखण्ड बाढीमा नेपाली परेकोमा प्रचण्ड मर्माहत, भने- ‘यो दुःखद क्षणमा हामी भारतको साथमा छौं’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यमा आएको भीषण बाढी र पहिरोले पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । बाढीमा १८ जना नेपाली नागरिकसहित दर्जनौं व्यक्ति बेपत्ता भएको खबरले आफू मर्माहत भएको बताउँदै उनले यो दुःखको घडीमा नेपाल, भारत सरकार र भारतीय जनताको साथमा रहेको बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले लेखेका छन्, ‘मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यमा बाढीले निम्त्याएको जनधनको ठूलो क्षतिले मर्माहत बनाएको छ । बाढीमा १८ जना नेपाली नागरिकसहित दर्जनौं भारतीय नागरिक बेपत्ता भएको यो दुःखद क्षणमा हामी भारत सरकार र भारतीय जनताको साथमा छौं ।’
नेपालसँग सिमाना जोडिएको उत्तराखण्डको उत्तरकाशी जिल्लामा गत साउन २० गते आएको बाढी र पहिरोमा परी जाजरकोट र बर्दियाका कम्तीमा १८ जना नेपाली नागरिक बेपत्ता भएको पुष्टि भएको छ । जाजरकोटको कुशे गाउँपालिकाका १३ जना र बर्दियाको मधुवन नगरपालिकाका ४ जना मजदुरीका लागि त्यहाँ पुगेका थिए ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपालीको उद्धारका लागि नेपाली दूतावासमार्फत कूटनीतिक पहल भइरहेको जानकारी दिएका थिए । भारतीय अधिकारीहरूले सेना र विपद् उद्धार टोली परिचालन गरी बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी राखेका छन् ।








