प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौँ । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तान पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन । नेपाल हाल एलएलडिसी समूहको अध्यक्ष राष्ट्र हो ।
साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको पर्यटकीय सहर अवाजामा आयोजना भएको सम्मेलनमा प्रधानमन्त्री ओलीले समूहको अध्यक्षको हैसियतमा भूपरिवेष्टित राष्ट्रहरूका साझा चुनौती र विकासका एजेन्डाहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेका छन् । उनले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा सम्मेलनलाई सम्बोधन गरेका थिए ।
सम्मेलनको अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुख, संयुक्त राष्ट्रसंघका उच्चपदस्थ अधिकारी तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गरी आपसी हित र सहयोगका विषयमा छलफल गरेका थिए ।
साउन १८ गते मध्यराति त्यसतर्फ प्रस्थान गरेको प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, एमाले सांसद सूर्य थापा, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा. दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत उच्चपदस्थ सरकारी अधिकारी, सञ्चारकर्मी र सुरक्षाकर्मीहरू सहभागी छन् ।
प्रधानमन्त्री ओली आज राति काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।








