रास्वपाले बोलायो केन्द्रीय समिति बैठक, १३ बुँदे एजेन्डामा छलफल हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।

बैठकमा सभापति रवि लामिछानेमाथि भइरहेको ‘राजनीतिक प्रतिशोध’ देखि रुपन्देही-३ को उपनिर्वाचन, पार्टीभित्रको विवाद र महत्वपूर्ण सांगठनिक नियुक्तिसम्मका १३ वटा महत्त्वपूर्ण एजेन्डामाथि छलफल हुने भएको छ । पार्टीले सार्वजनिक गरेको एजेन्डाअनुसार, आजको बैठक समसामयिक राजनीतिक परिस्थितिको समीक्षाबाट सुरु हुनेछ । यसअन्तर्गत रुपन्देहीमा सम्पन्न संसदीय दलको बैठक, उपनिर्वाचनको तयारी, र जिल्ला संगठनको अवस्थाबारे रिपोर्टिङ हुनेछ ।

‘कुलिङ अफ पिरियड’को विवाद र रविको मुद्दा प्राथमिकतामा
बैठकको सबैभन्दा महत्त्वपूर्ण एजेन्डामध्ये पार्टीको ‘कुलिङ अफ पिरियड’ कार्यान्वयनमा देखिएको गडबडीबारे गठित छानबिन समितिको प्रतिवेदनमाथि छलफल रहेको छ । त्यसैगरी, सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध सञ्चालित हस्ताक्षर अभियानको प्रगति समीक्षा गर्दै यसलाई थप प्रभावकारी बनाउने रणनीतिबारे पनि छलफल हुनेछ । 

बैठकले पार्टीका विभिन्न केन्द्रीय विभागका प्रमुखहरूको मनोनयन, पूर्व केन्द्रीय सदस्यहरूलाई नयाँ जिम्मेवारी दिने प्रस्ताव, र पार्टीको निर्वाचन आयोगमा सदस्य मनोनयन गर्ने विषयलाई टुंगो लगाउनेछ । यसका साथै, भविष्यका लागि ‘रणनीतिक समूह’ गठन गर्ने महत्त्वपूर्ण प्रस्ताव पनि छलफलको सूचीमा छ । प्रदेश इन्चार्जहरूले आ-आफ्नो प्रदेशको रणनीतिक योजना र प्रगतिबारे संक्षिप्त रिपोर्टिङ गर्नेछन् भने केन्द्रीय सदस्यहरूले पनि आफ्नो कार्यक्षेत्रको रिपोर्ट प्रस्तुत गर्नेछन् ।

बैठकले विदेशमा रहेका लाखौं नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायलाई दबाब दिने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसैगरी, पार्टी सचिवालयबाट अनुमोदित भइसकेको केन्द्रीय कार्यालयको अनुमानित बजेट प्रस्तुत गरिनेछ भने सांसदहरूले पार्टीलाई बुझाउनुपर्ने ‘लेवी’को विषयमा पनि छलफल हुने एजेन्डामा उल्लेख छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी
केन्द्रीय समिति बैठक
वि.सं. २०८२ श्रावण २३, ने.सं. ११४५, गुंलाथ्व चतुर्दशी
पार्टी केन्द्रीय कार्यालय, बनस्थली, काठमाण्डौं ।

केन्द्रीय समिति बैठकका प्रस्तावित विषयहरुः
१. समसामयीक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा,
केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन अपडेट, रुपन्देही संगठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानविन प्रतिबेदन, आदी

२. प्रदेश इन्चार्जको प्रदेश रणनीतिको सार एवं रिपोर्ट (अधिकतम ३ मिनेटका दरमा)

३. केन्द्रीय सदस्य रिपोर्टिङ (अधिकतम २ मिनेटका दरमा)

४. पार्टी सचिवालय बैठकका निर्णयहरुमा छलफल र अनुमोदन ।

५. विधान ब्याख्या अनुमोदन सम्बन्धमा ।

६. केन्द्रीय विभागको प्रमुख मनोनयन सम्बन्धमा ।

७. पूर्व केन्द्रीय सदस्यहरुलाई पुनः जिम्मेवारी दिने प्रस्तावको सम्बन्धमा ।

८. पार्टीको निर्वाचन आयोगमा मनोनयन सम्बधमा ।

९. रणनीतिक समुह गठन सम्बन्धमा ।

१०. संगठन सवलिकरणका लागि केन्द्रीय समिति, केन्द्रीय विभागलाई थप जिम्मेवारी सम्बन्धमा ।

११. विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकारको ब्यवस्था गर्न सरकार र संबन्धीत निकायको ध्यानाकर्षण गराउने सम्बन्धमा।

१२. सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षर बारे प्रगति रिपोर्ट र अभियान थप प्रभावकारी बनाउने सम्बन्धमा ।
१३. विविध

  • अधिवेशन प्रतिनिधि समय विन्दु (केन्द्रीय विभाग, प्रदेश विभागको नयाँ नियुक्ती) सम्बन्धमा ।

  • मधेश प्रदेश सहमहामन्त्री सिफारिस सम्बन्धमा ।

  • पार्टी सचिवालयबाट अनुमोदन भएको पार्टी केन्द्रीय कार्यालयको अनुमानित बजेट प्रस्तुत ।

  • सांसदहरुको लेवि सम्बन्धमा ।

धन्यवाद ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 12 =