रुपन्देही-३ मा रास्वपाको उम्मेदवार बन्न ९ जनाको दौड

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार बन्न चाहने आकांक्षीहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । उम्मेदवार बन्नका लागि नौ जनाले आवेदन दिएका छन् र अन्तिम उम्मेदवारको टुङ्गो पार्टीको पारदर्शी छनोट प्रक्रिया र प्राथमिक निर्वाचनमार्फत लाग्नेछ ।
बिहीबार पार्टीले आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्दै नौ जना आवेदकको नामावली सार्वजनिक गरेको हो । जसमा शुलभ खरेल, पाथवेन्द्र उपाध्याय, डा. लेकजंग थापा, ज्ञानु पौडेल, जित बहादुर गुप्ता, कुशम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन् ।
यस्तो छ उम्मेदवार छनोट प्रक्रिया
रास्वपाले साउन ७ देखि २१ गतेसम्म उम्मेदवारी आवेदनका लागि समय तोकेको थियो । अब सार्वजनिक भएका नामावलीमाथि दाबी-विरोध वा कुनै गुनासो भए शुक्रबार बिहान १० बजेदेखि शनिबार साँझ ५ बजेभित्र पार्टीको केन्द्रीय निर्वाचन आयोगमा उजुरी दर्ता गर्न सकिनेछ ।
पार्टीका रुपन्देही निर्वाचन इन्चार्ज विपिन आचार्यका अनुसार, उम्मेदवार छनोटका लागि एक व्यवस्थित र लोकतान्त्रिक प्रक्रिया तय गरिएको छ:
साउन २५ गते: आवेदकहरूसँग छलफल गरिने ।
साउन २६ गते: प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गरिने ।
साउन २६ देखि भदौ ११ गतेसम्म: पार्टीको विधिअनुसार उम्मेदवारहरूको मूल्यांकन गरिने ।
भदौ १२ गते: बिहानदेखि साँझ ५ बजेसम्म प्राथमिक निर्वाचन (Primary Election) सम्पन्न गरी उम्मेदवारको अन्तिम टुङ्गो लगाइने ।








