महिला मन्त्रालयको अधिकांश बजेटको हिस्सा ज्येष्ठ नागरिकमा केन्द्रित छ : सहसचिव बुढा

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले मन्त्रालयको अधिकांश बजेटको हिस्सा ज्येष्ठ नागरिकमा केन्द्रित गरेको बताएका छन् ।

बिहीबारको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आश्रममा बसेका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षासँग जोड्नका लागि समस्या भइरहेको बताए ।

नागरिकता नहुँदा उनीहरूलाई सामाजिक सुरक्षा परिचालित गर्न कठिनाइ भइरहेको उनको गुनासो छ । उनीहरूलाई नागरिकका दिने विषय नागरिकता ऐनसँगै जोडिनुपर्ने बताए । तर उनीहरूको परिचय स्पष्ट नहुने र उनीहरूबारे थप जानकारी नपाउने स्थितिले समस्या आइरहेको बताए । नागरिकता प्राप्त नहुँदासम्म मन्त्रालयले प्रत्यक्ष रूपमा उनीहरूलाई सामाजिक सुरक्षासँग जोडेर काम गर्न नसक्ने जिकिर गरे ।

उनले भने ‘आश्रममा बस्नुभएको ज्येष्ठ नागरिकको विषयलाई हाम्रो सामाजिक सुरक्षाको विषय कसरी परिचालित हुन्छ भन्दा सबैभन्दा पहिला उहाँको परिचयसँग जोडिन्छ । परिचय नागरिकतासँग जोडिन्छ । उहाँहरूलाई नागरिकता प्रदान गर्ने विषय नै आफैँमा एक किसिमको नागरिकता ऐनबाट निर्देशित हुनुपर्ने स्थिति छ । नागरिकता प्राप्त नहुँदासम्म मन्त्रालयले प्रत्यक्ष काम गर्न सक्दैन । लुम्बिनी प्रदेशमा कुपोषणको अवस्था तुलनात्मक रूपमा बढी देखिएको छ । विकासका अरू दृष्टिले अलि अगाडि छ भन्छौँ, तर कुपोषणको हिसाबले पछि छ । पछिल्लो चरणमा गैरसरकारी संस्थाहरूले सञ्चालन गर्ने परियोजनाहरूमा पोषणको विषय जोडिएर अलि बढी कार्यक्रमहरू गएको अवस्था छ । त्यो अवस्थामा यहाँको नजरमा त्यो विषय पनि आयो भने पोषणमा के काम भइरहेको छ भन्नेबारे निर्देशित गर्न सहज हुन्छ । ज्येष्ठ नागरिकको विषयमा हेर्ने हो भने अहिलेको मन्त्रालयको बजेटको अधिकतम हिस्सा ज्येष्ठ नागरिक केन्द्रित छ ।’

उनले लुम्बिनी प्रदेशमा कुपोषणको अवस्था अन्य प्रदेशको भन्दा बढी रहेको भन्दै सरकारले पोषण परियोजनाका लागि आवश्यक काम अघि बढाइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 1 =